• Menu

जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट गरेको आरोपमा कञ्चनपुरबाट ५ जना पक्राउ

नेपाल प्रफिट

२०८३ असोज २७, मंगलबार १३:१२

जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट गरेको आरोपमा कञ्चनपुरबाट ५ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-१, रतनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २३ गते अपराह्न ४ बजे रतनपुरका एक व्यक्तिलाई बेलौरी नगरपालिका-१ स्थित खजुवा जंगलमा लगेर धारिलो हतियार (खुकुरी) देखाउँदै धम्क्याउने तथा कुटपिट गर्ने घटना भएको थियो।

घटनाबारे असोज २४ गते अपराह्न ४ बजे इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका-१, रतनपुरका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिख्वा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक र अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ।