• Menu

इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमति, हरिजनद्वारा अनशन स्थगित

नेपाल प्रफिट

२०८३ असोज २३, शुक्रबार १६:०९

इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमति, हरिजनद्वारा अनशन स्थगित

काठमाडौं । इन्टर्न चिकित्सकहरूको मासिक निर्वाह भत्ता (स्टाइपेन्ड) सम्बन्धी माग चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा लैजाने सहमति भएपछि आमरण अनशनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनले अनशन तोडेका छन् ।

एमबिबीएस तथा बिडीएस इन्टर्न चिकित्सकहरूको निर्वाह भत्तासम्बन्धी माग आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा लैजाने सहमति भएसँगै हरिजनले आज अनशन तोडेका हुन् । सम्झौतामा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी र चिकित्सा शिक्षा आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका साथै अनशनरत हरिजन तथा चिकित्सा शिक्षाका विद्यार्थी रेशम विष्ट, सन्तोष चौधरी र महेश्वर अधिकारी सहभागी थिए ।

इन्टर्न चिकित्सकको पारिश्रमिक निर्धारण गर्नुपर्ने, श्रमको मूल्यांकन गर्नुपर्नेलगायत माग राख्दै हरिजन गत साउन १९ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बसेका थिए । सरकारले साउन २२ गते पाँच बुँदे सहमति गरेपछि उनले अनशन तोडेका थिए । उक्त सहमति कार्यान्वयन नभएपछि हरिजनले यही असोज १९ गतेदेखि पुनः आमरण अनशन सुरु गरेका थिए ।

सम्झौताअनुसार अन्य मागका सम्बन्धमा चिकित्सा शिक्षा आयोगबाट सम्बोधन भइरहेको र आगामी दिनमा पनि सम्बोधन गरिने जनाइएको छ । हरिजनले स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्नुपर्ने, एमबीबीएस तथा बीडीएस विद्यार्थीका लागि छात्रावासलाई अनिवार्य नभई वैकल्पिक बनाउनुपर्ने, इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा श्रम ऐनअनुसार समान बनाउन समिति गठन गर्नुपर्ने र मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउनुपर्ने लगायतका माग राखेका छन् । रासस