• Menu

अपाचे रेस अनुभव (एआरई) जीपी, बुटवलबाट अन्तिम चरणका लागि तीन राइडर छनोट

नेपाल प्रफिट

२०८३ असोज १९, सोमबार १२:१८

अपाचे रेस अनुभव (एआरई) जीपी, बुटवलबाट अन्तिम चरणका लागि तीन राइडर छनोट

रुपन्देही  । जगदम्बा मोटर्स प्रालिले बुटवलमा आयोजना गरेको अपाचे रेस अनुभव (एआरई) जीपी रेसिङ छनोट प्रतियोगिताबाट १६० सीसीतर्फ तीन जना राइडर छनोट भएका छन्।

तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा सम्पन्न प्रतियोगितामा धीरज बि.क. पहिलो, अभिषेक पन्थी दोस्रो र अरिक श्रेष्ठ तेस्रो भएका हुन्। धीरजले ३४.०७ सेकेन्ड, अभिषेकले ३४.६२ सेकेन्ड र अरिकले ३४.८७ सेकेन्डमा दौड पूरा गरेका थिए।

बुटवलमा आयोजना गरिएको छनोट प्रतियोगितामा ७६ जना राइडर सहभागी भएपछि दर्ता प्रक्रिया बन्द गर्नुपरेको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी राइडरलाई पूर्व एआरई जीपी नेपाल विजेता सुजन थापा मगर र चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले प्रशिक्षण दिएका थिए।

प्रशिक्षणका क्रममा राइडिङको सही आसन, मोड काट्ने तरिका, मोटरसाइकल ढल्काउने प्रविधि, ब्रेकको प्रयोग र दृष्टि नियन्त्रणलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो। त्यसपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक दौड सञ्चालन गरिएको थियो।

बुटवलबाट छनोट भएका तीनै जना राइडरले एआरई जीपीको अन्तिम चरणमा काठमाडौं, नेपालगन्ज, इटहरी र पोखराबाट छनोट भएका राइडरसँग प्रतिस्पर्धा गर्नेछन्।

अन्तिम चरणमा १६० सीसी र २०० सीसी वर्गमा पहिलो हुने राइडरले भारतको मद्रास अन्तर्राष्ट्रिय सर्किटमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। उक्त प्रतियोगितामा ५० भन्दा बढी देशका राइडर सहभागी हुने आयोजकले जनाएको छ।

जगदम्बा मोटर्सका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली राइडरको यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले व्यहोर्नेछ।

जगदम्बा मोटर्सले नेपालमा मोटर खेलको विकास र नयाँ राइडर उत्पादन गर्ने उद्देश्यले एआरई कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रमअन्तर्गत काठमाडौं, बुटवल, नेपालगन्ज, इटहरी र पोखरामा क्षेत्रीय छनोट प्रतियोगिता आयोजना हुँदै आएका छन्।

कम्पनीले इच्छुक राइडरलाई प्रशिक्षणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।