• Menu

पर्वतमा बाढीपहिरोबाट ३ सय परिवार विस्थापित, १७० घरमा क्षति

नेपाल प्रफिट

२०८३ असोज १८, आइतबार १०:५६

पर्वतमा बाढीपहिरोबाट ३ सय परिवार विस्थापित, १७० घरमा क्षति

पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो ।  सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।

कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

बाढीपहिरोले  पाँच वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ । पर्वत-बागलुङ जोड्ने झोलुंगे पुल मध्यपहाडी लोकमार्गको मालढुंगा पुलमा पनि क्षति भएको छ । जिल्लाका  ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास-बिहादी र लुङ्खुदेउराली-हुवास सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने उनले जानकारी दिए ।

बाढीपहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक संघसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने-ओछ्याउने, सरसफाइ र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन् ।