लमजुङ । पछिल्लो चार दिनको निरन्तरको वर्षापछिको बाढीपहिरोबाट बेँसीसहर-चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाइ भत्किएको सडकको मर्मत सुरु गरिए पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ ।
डुम्रे-बेँसीसहर-चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार उक्त सडक मुख्य रुपमा तीन स्थानमा बढी क्षति पुगेको छ । त्यसबाहेक पनि विभिन्न स्थानमा साना-ठूला गरी दर्जनौँ पहिराले सडकमा क्षति पुगेको छ । कतिपय ठाउँमा सडक भासिएको छ भने केही स्थानमा नदीले सडक कटान गरेको छ ।
‘अहिले धेरै ठाउँमा सडकमा क्षति पुगेको छ,’ उनले भने, ‘पूर्ण रुपमा सञ्चालनमा ल्याउन कम्तीमा हप्ता दिन लाग्न सक्छ ।’ उनका अनुसार मस्र्याङ्दी गाउँपालिका-४ रामबजार क्षेत्रमा करिब २५ देखि ३० मिटर सडक भासिएको छ । उक्त स्थानमा सडक खुलाउने तयारी भइरहेको छ । रामबजार आसपासका साना-साना अवरोध हटाएर सडक खुलाउने काम भइरहेको उनले बताए । मनाङको नासों गाउँपालिका-३ खोत्रो क्षेत्रमा ठूला ढुंगासहित पहिरो गएको छ ।
ठूला ढुंगा हटाउन बम ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेको उनले बताए । कोत्रो क्षेत्रमा पनि मर्स्याङ्दी नदीले सडक कटान गरेको छ । दुई ठाउँमा रहेका काठे पुल बगाएको छ । सडक खुलाउन आयोजनाले दुई वटा डोजर प्रयोग गरिरहेको छ भने थप एउटा डोजर नुवाकोटबाट ल्याउने तयारी गरिएको छ । तीन वटै डोजर परिचालन गरेर सडक खुलाउने तयारी भइरहेको उनले बताए । सडक खुलाउन जलविद्युत आयोजनासँग समेत सहयोग माग गरिएको छ ।
केही स्थानमा सडकको क्षति व्यवस्थापनका लागि प्राविधिक अध्ययनसमेत आवश्यक पर्ने उनले बताए । २०७८ सालमा बाढीपहिरोका कारण बेँसीसहर-चामे सडक लामो समय अवरुद्ध भएको स्मरण गर्दै अहिले धेरै ठाउँमा एकैपटक क्षति भएकाले सडक पूर्ण रुपमा सञ्चालनमा ल्याउन समय लाग्ने उनले बताए ।
करिब ६५ किलोमिटर लामो बेँसीसहर-चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य स्थलमार्ग हो । सडकमा क्षति पुगेपछि मनाङवासीको आवतजावतसँगै खाद्यान्न, औषधि, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ । मनाङमा अहिले खानेपानीको समस्या देखिन थालेको र अधिकांश खाद्यान्न तथा आवश्यक सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले सडक लामो समय अवरुद्ध भए समस्या थपिन सक्ने उनले बताए ।