म्याग्दी । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका-४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका-७ भारवाङमा निर्माणाधीन विद्युतगृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो ।
आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने दुई हजार ५०६.३९ मिटर सुरुङ ब्रेक थ्रु भएको जानकारी दिए । ‘छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका-४ खाम्लास्थित बाँधतर्फको तीन हजार २८३.३२ मिटरमध्य हालसम्म एक हजार ९७३ मिटर सुरुङ निर्माण सकिएको छ,’ उनले भने, ‘बाँकी सुरुङ पनि केही महिनाभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ ।’
हालसम्म समग्रमा ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले जानकारी दिए । २०८० साल चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले २०८१ सालभदौ महिनादेखि मुख्य सुरुङ निर्माण थालेको थियो ।
बाँध, सुरुङ र विद्युतगृह निर्माणका साथै हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्र पारिएको छ । बर्खायाममा आयोजना निर्माणस्थलमा पर्ने बेनी-दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुल जोखिममा पर्ने र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइएको असर अपर म्याग्दी-१ लगायतका जलविद्युत आयोजना निर्माणमा परेको छ ।
सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण, प्रवर्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युत गृह मालिका गाउँपालिका-७ भारवाङमा रहनेछ ।
भारवाङदेखि १.५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका-७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत केन्द्रीय लाइनमा जोडिनेछ ।
रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्राली परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी-१ को प्रवर्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालीमा आबद्ध छ ।