वासिङ्टन । शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको पानी असामान्य रूपमा तातिरहेका बेला महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय भएका छन्। वैज्ञानिकहरूले प्रशान्तमा एकै समयमा यति शक्तिशाली तीन तूफान सक्रिय हुनु दुर्लभ अवस्था भएको बताएका छन्।
उष्णकटिबन्धीय आँधी ‘मेरी’ बुधबार राति बाजा क्यालिफोर्नियाको तटमा पुग्दा तूफानमा परिणत भएको हो। यसअघि ‘करिना’ र ‘लोवेल’ नामका दुई श्रेणी-४ का तूफान प्रशान्त महासागर हुँदै पश्चिमतर्फ अघि बढिरहेका थिए।
मिशिगन विश्वविद्यालयकी जलवायु वैज्ञानिक जुलिया कोलका अनुसार समुद्रको तातो पानीले तूफानलाई ठूलो ऊर्जा प्रदान गर्छ। एल निनोका कारण प्रशान्त क्षेत्रमा ठाडो हावाको प्रभाव कम हुँदा शक्तिशाली तूफान विकासका लागि थप अनुकूल वातावरण बन्ने उनले बताइन्।
राष्ट्रिय तूफान केन्द्रका अनुसार ‘लोवेल’ हवाईको हिलोबाट करिब ७१० किलोमिटर दक्षिणमा रहेको छ। यो आगामी केही दिनसम्म शक्तिशाली रहने अनुमान गरिएको छ। यसका कारण हवाईका केही क्षेत्रमा जोखिमपूर्ण समुद्री छाल र प्रतिकूल मौसम उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ।
‘करिना’ केही कमजोर भए पनि आगामी दुई दिनसम्म तूफानकै रूपमा रहने अनुमान गरिएको छ। ‘मेरी’ भने शुक्रबारसम्म थप शक्तिशाली बन्न सक्ने मौसमविद्हरूले बताएका छन्।
मियामी विश्वविद्यालयका वायुमण्डलीय वैज्ञानिक बेन्जामिन किर्टम्यानले पछिल्ला दुई दशकमा विश्वको जलवायु प्रणाली उल्लेख्य रूपमा तातेको र समुद्री सतहको तापक्रम उच्चतम रेकर्डको नजिक पुगेको बताएका छन्।
यसअघि सन् २०१५ को शक्तिशाली एल निनोका क्रममा पनि प्रशान्त महासागरमा एकै समयमा ‘किलो’, ‘इग्नासियो’ र ‘जिमेना’सहित चारवटा प्रणाली सक्रिय भएका थिए।
अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनका अनुसार यस वर्षको एल निनो रेकर्डमै सबैभन्दा शक्तिशालीमध्ये एक बन्ने सम्भावना ६९ प्रतिशत रहेको छ। यसको प्रभाव विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाका रूपमा देखिन थालेको वैज्ञानिकहरूले बताएका छन्।
पेरुमा समुद्रको बढ्दो तापक्रमले एन्कोभी माछाको उत्पादन प्रभावित भएको छ भने सुडानमा वर्षा ढिलाइ हुँदा नाइल नदीको पानीको सतह घटेको बताइएको छ।
एल निनो उष्णकटिबन्धीय प्रशान्त महासागरमा हुने प्राकृतिक जलवायु चक्रको तातो चरण हो। यसले विश्वका विभिन्न क्षेत्रमा गर्मी, खडेरी, चिसो तथा अत्यधिक वर्षाजस्ता मौसमी प्रभाव निम्त्याउन सक्छ। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण एल निनोसँग सम्बन्धित वर्षा, खडेरी र अन्य चरम मौसमी प्रभाव अझ तीव्र हुन सक्ने जोखिम छ।