
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी ९३ अर्ब ४३ करोड ६३ लाख हाराहारी देखिएको हो । जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् आठ अर्ब २४ करोडले वृद्धि हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजश्वतर्फको कुल प्राप्ति ८५ अर्ब १९ करोड ६ लाख र गैरकर राजश्वतर्फको कुल प्राप्ति सात अर्ब तीन करोड ४७ लाख छ । त्यस्तै, सरकारले पहिलो महिना २४ करोड तीन लाख वैदेशिक अनुदान सहायता लिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनाको बजेट खर्च ४१ अर्ब ८८ करोड ५८ लाख रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख बराबरको बजेट ल्याइएको थियो । साउन महिनाको बजेट खर्च वार्षिक विनियोजनको १.९७ प्रतिशत हो ।
चालु शीर्षकमा यसवर्ष १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख विनियोजन भएकोमा साउन मसान्तसम्ममा १.६८ प्रतिशत अर्थात् २१ अर्ब ४० करोड ३८ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० लाख ६३ हजार विनियोजन भएकोमा ०.३१ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म १९ अर्ब १५ करोड ३५ लाख खर्च भएको छ । जुन यो शीर्षकमा वार्षिक विनियोजनको ४.५३ प्रतिशत बराबर हो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal