
काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबफले केशम टापुको आवासीय क्षेत्रमा भएको भनिएको अमेरिकी आक्रमणको कडा निन्दा गर्दै त्यसलाई सर्वसाधारणमाथिको ‘आतंकवादी आक्रमण’को संज्ञा दिएका छन्। उनले निर्दोष नागरिकको रगत बगाएको आरोप लगाउँदै अमेरिकाले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै गालिबफले केशम टापुको घटना मिनाब र लामर्डमा भएका पूर्व घटनाकै निरन्तरता भएको दाबी गरेका छन् । उनले युद्धभूमिमा भएको असफलताको क्षतिपूर्ति अमेरिकाले निर्दोष नागरिकमाथि आक्रमण गरेर गर्न खोजेको आरोप लगाउँदै इरानले यसको कडा जवाफ दिने बताएका छन् ।
गालिबफको प्रतिक्रिया अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का दर्जनौँ लक्ष्यविरुद्ध व्यापक सैन्य कारबाही गरेको जानकारी सार्वजनिक गरेपछि आएको हो। सेन्टकमका अनुसार जुलाई २९ को राति भएको आक्रमणमा आइआरजीसीका सैन्य कमान्ड केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन केन्द्र, तटीय निगरानी तथा रक्षा संरचना र समुद्री सैन्य क्षमतासँग सम्बन्धित स्थललाई निशाना बनाइएको थियो ।
अमेरिकी सेनाले जुलाई २८ मा इरानले मध्यपूर्वमा तैनाथ अमेरिकी फौजलाई लक्षित गरी प्रहार गरेका सबै ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक अवरोध गरिएको दाबी पनि गरेको छ । सेन्टकमका अनुसार मध्यपूर्वमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक उच्च सतर्कताका साथ तैनाथ छन् ।
यता, इरानले केशम टापुमा भएको भनिएको अमेरिकी आक्रमणको प्रतिउत्तरस्वरूप जोर्डनस्थित अल-अजराक हवाई अड्डामा रहेको अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। इरानका सरकारी सञ्चारमाध्यमका अनुसार आइआरजीसीको एयरोस्पेस फोर्सले अमेरिकी एफ-३५ लडाकू विमान राखिएको क्षेत्र तथा मर्मत केन्द्रलाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।
आइआरजीसीले उक्त आक्रमणमा तीनवटा एफ-३५ लडाकू विमान पूर्ण रूपमा नष्ट भएको, थप तीनवटा गम्भीर रूपमा क्षतिग्रस्त भएको तथा केही अमेरिकी सैनिक, प्राविधिक र मर्मतसम्भार कर्मचारी मारिएको दाबी गरेको छ। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
इरानी पक्षले अमेरिकी सेनाले जोर्डनस्थित आधारबाट सञ्चालन गरेको हवाई आक्रमणमा केशम टापुका दुई आवासीय घर बंकर-बस्टर बमबाट ध्वस्त पारिएको, एक बालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएको र अन्य दुई बालबालिका घाइते भएको आरोप पनि लगाएको छ। अमेरिकी पक्षले भने यी आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal