• Menu

सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, ७ जना घाइते

नेपाल प्रफिट

२०८३ असार ३२, १४:४१

सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, ७ जना घाइते

रुपन्देही । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोबसका सहचालक बुटवल उपमहानगरपालिका-३ का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

दुर्घटनामा सिद्धार्थनगर नगरपालिका-८ निवासी ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही स्थानकी ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका-२ का १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका-६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर नगरपालिका-३ दरखसवाका २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देहीको मर्चवारी गाउँपालिका-७ वडवलियाका ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका-६ का ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएको उनले बताए ।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चालाई मणिग्रामस्थित क्रिमसन अस्पताल पठाइएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।

दुर्घटनापछि फरार भएका माइक्रोबस चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ गणेशपुरका ४६ वर्षीय छविलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चन्दले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।