काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अपराध मुद्दामा टिका खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको बैंकिङ कसुर अपराध अनुसन्धान तथा कारबाही शाखाले खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
सुनचाँदी व्यवसायी दिलबहादुर रसाइलीले दिएको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएको परिसरका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए । खड्काले रसाइली सञ्चालक रहेको मध्य बानेश्वरस्थित श्री अल स्टार ज्वेलरीबाट ३३ लाख ७८ हजार रुपैयाँको सुन खरिद गरी ब्यालेन्स नभएको चेक दिएको जाहेरीमा उल्लेख छ ।
२०८२ असोज २७ मा सुन किनेकी खड्काले सुरुमा चेक दिएकी थिइन् । तर, व्यवसायी रसाइलीले नमानेपछि चेक जम्मा गरेको भौचर दिइन् । ‘तर, खातामा पैसा रहेनछ, भौचर देखेर सुनका गहना दिएँ,’ रसाइलीले भने, ‘नराम्रोसँग फसियो ।’
पटक-पटकको फलोअपपछि खड्काले २२ लाख ३८ हजार उठाउन उनी सफल भए । ११ लाख ४० हजार रुपैयाँ पाउन बाँकी छ । खड्काले दोस्रो पटक प्रदान गरेको १६ लाख ४० हजारको चेक पनि नसाटिएपछि रसाइलीले प्रहरीमा जाहेरी दिएको बताएका छन् । चैत १९ मा पक्राउ पुर्जी जारी भएपछि खड्का सम्पर्कविहीन छिन् ।
यसबीचमा खड्काले अरु सुनचाँदी व्यवसायीलाई पनि यसैगरी झुक्याइसकेकी छन् । भोटाहिटीको श्री भिन्तुना ज्वेलर्सबाट उनले फागुन १७ र १९ मा करिब ५३ लाख रुपैयाँको सुन खरिद गरेर पैसा तिरेकी छैनन् । १० लाख डलर बराबरको सुनका गहना खरिद गरी अमेरिका पठाउन भन्दै उनले श्री भिन्तुनाबाट पहिलो दिन २३ लाख र अर्को दिन २९ लाख रुपैयाँबराबरको सुन किनेर चेक दिएकी हुन् ।
चेकमा नमानेपछि नगद जम्मा गरेको भौचर दिएकी थिइन् । सोही भौचरमा विश्वास गर्दा आफू ठगिएको सञ्चालक संघरत्न बज्राचार्यले बताएका छन् । उनी अहिले पैसाका लागि प्रहरीकहाँ धाइरहेका छन् ।
खड्काले डेढ वर्षअघि न्युरोडको नटराज ज्वेलरीबाट पनि ५ लाख ५९ हजार रुपैयाँको गहना किनेर पहिला चेक दिन खोजेकी थिइन् । तर, व्यवसायीले नमानेपछि तत्काल बैंक गएर चेक जम्मा भएको भौचर ल्याए थमाएको कर्मचारी अनन्न सापकोटाले बताए ।
‘त्यही भौचरलाई भर पर्दा अहिलेसम्म दु:ख पाइरहेका छौं,’ उनले भने । नटराजको जाहेरीका आधारमा प्रहरीले खड्काविरुद्ध अघि बढाएको बैंकिङ कसुरसम्बन्धी अपराध मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन छ ।
व्यवसायीहरुका अनुसार खड्का अरु धेरै पसलबाट यसैगरी गहना उठाएकी छन् । सिलसिलाबद्ध तरिकाले चेकमार्फत बदमासी भइरहँदा पनि प्रहरीले थप अनुसन्धान अघि बढाउन चासो नदिएको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।