• Menu

पूर्वाधार विकासमा अवरोध नगर्न महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल प्रफिट

२०८१ माघ २४, १६:३८

पूर्वाधार विकासमा अवरोध नगर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नर्गन आग्रह गरेका छन् । उनले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा आम नागरिकलाई आग्रहसमेत गरे ।

सरकारले आर्थिक विकासका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सन्दर्भमा पूर्वाधारको विकास रोक्न विभिन्न तहबाट भइरहेका गतिविधि खेदजनक रहेको अध्यक्ष  ढकालले बताए ।

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको ‘क्यान इन्फोटेकको ३०औं संस्करणको उद्घाटनका अवसरमा उनले विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने धारणा राखे ।

पाथीभरा केवलकार परियोजनामाथि भइरहेका विरोध तथा टिप्पणीप्रति लक्षित गर्दै उनले भने, ‘एकातिर हामीले विकासकf लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउने कुरा गरिरहेका छौं, अर्कोतर्फ पूर्वाधार विकासमा भइरहेका लगानीलाई विभिन्न बहानामा रोक्ने र नकारात्मक टिप्पणी गर्ने गरेका छौं । यसबाट लगानीको वातावारणमात्रै बिग्रिने होइन, स्वदेशमै रोजगारी सिर्जना गर्ने र रोजगारीका लागि बिदेसिएका युवालाई नेपालमै रोक्ने अभियानलाई समेत अवरोध गरेका छौं ।’

आफूले नेपालमा रोजगारी सिर्जना होस् भनेर काम गरिरहेको अवस्थामा विभिन्न नाममा विरोध हुनु दु:खद भएको उनले बताए । उनले पाथीभरा केवलकार परियोजनाले कुनै धर्म संस्कृतिलाई असर गर्नेभन्दा पनि त्यसको प्रवर्धनमा सघाउ पुर्‍याउने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षणमा सघाउ पुर्‍याउने धारणा राखे ।

‘म आफू पनि कुनै बेला कामका लागि विदेश गएको हुँ । नेपालमै केही गर्नुपर्छ भन्ने भावना बोकेर नेपाल फर्किएर केही गरिरहेको छु । हजारौंलाई रोजगारी दिएको छु । अहिले पनि नेपाली युवा खाडी र मलेसियामा दु:ख गर्न बाध्य छन् । पाथीभरामा केवलकार बन्दा स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । केही हजार युवालाई मुलुकभित्रै अवसर सिर्जना गर्न सकिन्छ,’ उनले भने ।

उनले सोही केवलकारको विषयलाई लिएर नेपालको बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अनावश्यक विवादमा तान्ने प्रयास भइरहेको उल्लेख गरे । यस्ता गतिविधिले आन्तरिक तथा बाह्य लगानीलाई निरुत्साहित गर्ने धारणा राखे ।