• Menu

‘पाथीभरा केबलकार निर्माणमा अवरोध उचित होइन, निजी लगानीलाई निरुत्साहित नगरौँ’

नेपाल प्रफिट

२०८१ माघ २२, १५:०८

‘पाथीभरा केबलकार निर्माणमा अवरोध उचित होइन, निजी लगानीलाई निरुत्साहित नगरौँ’

काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि महत्वपूर्ण मानिएको पूर्वाधार, पाथीभारा केवलकार निर्माण अघि बढाउने सन्दर्भमा विवाद देखिएको विवादलाई उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले उचित नभएको बताएको छ ।

पाथीभरा केबलकार निर्माणको पृष्ठभूमिमा केही दिनदेखि भइरहेका गतिविधिबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘सरकार र गैर सरकारी क्षेत्रबाट भएका विभिन्न अध्ययनहरूले कोशी प्रदेशमा पर्यटन क्षेत्रको विकास र विस्तार हुन नसक्नुमा पर्यटकीय पूर्वाधारको कमीलाई प्रमूख कारणका रुपमा औंल्याएको विदितै छ,’ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाधारको कमीका मूलतः बाह्य कारण पर्यटक आगमन हुन नसक्दा पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना हुन नसकिरहेको अहिलेको अवस्थामा केवलकार निर्माणका लगानी सुनिश्चित गरी निर्माण पुर्वका आवस्यक सबै प्रक्रियासमेत पूरा भई निर्माणको कार्य अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुनु उचित होइन ।’

पाथीभरा मन्दिरको दर्शनका लागि आन्तरिक वाहेक वार्षिक लाखौं भारतीय पर्यटकलाई यस प्रदेशमा भित्राउन कोशेढुंगा सावित हुनसक्ने यस पुर्वाधार निर्माणमा हुने अवरोधले ताप्लेजुङ र समग्र प्रदेशवासीको हित नगर्ने महासंघले ठहर गरेको छ ।

‘हामीले देशमा लगानीका लागि बाह्य लगानीकर्तालाई अपिल गरिरहेको अवस्थामा देशभित्रकै निजी क्षेत्रलाई निरुत्साहित गर्नु उचित हुँदैन । प्रत्यक्ष वैदेशिक लगानीका लागि सर्वप्रथम स्वदेशमा नै लगानीको वातावरण निर्माण गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि निजी क्षेत्रको मनोबल बढाउनु जरुरी छ । कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन, पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको पृष्ठभूमिमा यस्ता क्रियाकलाप हुँदा लगानीकर्ता माझ गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने निश्चित छ ।’

धार्मिक सांस्कृतिक विविधताले नै पर्यटनको महत्वपूर्ण आधारशिला खडा गरेको र हरेक धर्म संस्कृति रीतिरिवाजको प्रवर्धन, संरक्षण र सम्वर्धनमा निजी क्षेत्र संवेदनशील रहेको महासंघले जनाएको छ । ‘अतः अहिले देखिएको विवाद एवं अवरोधलाई वार्ता संवादको माध्यमद्वारा समाधान गर्न अपिल गर्दछु । यसको लागि म सम्पूर्ण सरोकारवालाहरूलाई संयम बनी समस्या समाधानको लागि अनुरोध गर्दछु,’ राउतले भनेका छन् ।

निजी क्षेत्र र समुदायको सामुहिक प्रयासबाट मात्र दिगो आर्थिक विकास सम्भव हुन्छ भन्नेमा हामी स्पष्ट हुनुपर्ने उनको धारणा छ । ‘त्यसैले पूर्वाधार निर्माण लागयतका विकासमूलक कार्यमा स्थानीयको सहभागिताको विधि अवलम्वन गर्ने गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विकासका प्रतिफलमा सम्वन्धित क्षेत्रका स्थानीयबासीको महत्वपूर्ण हिस्सा हुनुपर्ने मान्यतालाई यस आयोजनाले पनि स्वीकार गरेको पृष्ठभूमिमा स्थानीय, भाषा, कला, संस्कृति र सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने तथा स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विषयमा अस्पष्टता रहेको भए वार्ता र संवादबाट त्यसको निरुपण गरी आयोजना निर्माणका कार्य तत्काल अघि बढ्ने वातावरण बनाउन संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्दोलनरत पक्षसँग महासंघ कोशी प्रदेशले आग्रह गरेको छ ।