काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् ।
नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन निर्वाह गरेएको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले अध्यक्ष ढकालले विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’बाट सम्मानित गरेको हो ।
इन्डोनेसियाको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिएको अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका छन् ।
यो सम्मानले नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबीचको आर्थिक सम्बन्ध प्रवर्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ ।
समारोहमा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए ।
ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबीच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताए ।
नेपाल र इन्डोनेसियाबीच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरुलाई भिसा फ्रि सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले ती सम्झौताले दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने र दुई देशबीच हुने सरकारी भ्रमणहरुलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे ।
उनले इन्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको प्रसंग उल्लेख गर्दै कोरोना महामारीअघि इन्डोनेसिया जाने नेपालीलाई अन अराइभल भिसा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले पुन: सुरु गर्न इन्डोनेसिया सरकारसँग आग्रह गरे ।
यसअघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत छन् ।
सम्मान प्रदान गर्ने कार्यक्रममा विभिन्न देशका राजदूतहरु, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिको उपस्थिति थियो ।