• Menu

चार महिनामै प्रतितोला २१ हजार ६ सय बढ्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ कात्तिक २, शुक्रबार १३:५१

चार महिनामै प्रतितोला २१ हजार ६ सय बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य चार महिनामै प्रतितोला २१ हजार रुपैयाँ बढेको छ । २०८१ असार २ गते प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य कात्तिक २ गते २१ हजार ६ सय रुपैयाँ बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सुनको मूल्य चार महिनामा १५.१३ प्रतिशतले बढेको छ भने हरेक महिना औसत ५ हजार रुपैयाँभन्दा धेरैले उकालो लागेको छ । सुनको मूल्य साउन २ गते १ लाख ४९ हजार ८ सय, भदौ २ गते १ लाख ५२ हजार ६ सय, असोज २ गते १ लाख ५६ हजार ७ सय र कात्तिक २ गते १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

सुनको मूल्य शुक्रबार मात्रै प्रतितोला २ हजार रुपैयाँ बढेर हालसम्मकै उच्च बनेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहँदा त्यसको प्रभाव नेपाली बजारमा परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २७ सय ११ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चित वातावरण एवं मध्यपूर्वको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित भएका छन् । लगानीकर्ताको आकर्षण बढेसँगै माग बढेपछि मूल्य पनि उकालो लागेको हो ।