काठमाडौं । सुनको भाउ एकैदिन २ हजार बढेर प्रतितोला १ लाख ६४ हजार ४ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार तोलामा २ हजार बढेको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहँदा त्यसको प्रभाव नेपाली बजारमा परेको छ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २७ सय ११ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चित वातावरण एवं मध्यपूर्वको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित भएका छन् ।
आज चाँदीको भाउ पनि बढेको छ । बिहीबार प्रतितोला १९५० रुपैयाँ रहेको चाँदीको मूल्य आजका लागि १९८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।