• Menu

फेडले ब्याजदर घटाउने निश्चित भएपछि सुनको मूल्यमा लगातार वृद्धि

नेपाल प्रफिट

२०८१ भदौ ३०, ११:११

फेडले ब्याजदर घटाउने निश्चित भएपछि सुनको मूल्यमा लगातार वृद्धि

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेर सुन एक लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको हो । सुनको मूल्य नेपाली बजारमा शुक्रबार पनि एकैपटक ३ हजार रुपैयाँ बढेको थियो ।

शुक्रबार सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंक (फेड)ले ब्याजदर घटाउने निर्णय बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार फेडले यसै साता ब्याजदर कटौती गर्ने निश्चित भएपछि लगानीकर्ता सुनमा आकर्षित भएका हुन् ।

फेडले यही मंगलबार या बुधबारसम्ममा ब्याजदर ०.५ प्रतिशत विन्दुले कटौती गर्ने सार्वजनिक भएको छ । हाल फेडको ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतको बीचमा छ । युरोपेली केन्द्रीय बैंकले पनि यसै साता ब्याजदर घटाउँदै छ ।

घट्दो ब्याजदरबाट लाभ लिन लगानीकर्ताले सुनमा लगानी बढाएका कारण मूल्य बढेको हो ।

आइतबार चाँदी पनि महँगिएको छ । शुक्रबार प्रतितोला एक हजार ८६० रुपैयाँ रहेको चाँदी ४० रुपैयाँ बढेर आज १९ सय रुपैयाँ पुगेको हो ।