सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस
कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो । घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुन्डिनु आदि बुझ्नुपर्छ ।
नेपालमा औसत प्रतिवर्ष सात हजार मानिसले आत्महत्या गरेको देखिन्छ । विस्तृत रुपमा हेर्दा विगत तीन आर्थिक वर्षको आत्महत्याको तथ्यांक यस्तो छ :
आर्थिक वर्ष २०७८/७९ – ६,८३०
आर्थिक वर्ष २०७९/८० – ६,९९३
आर्थिक वर्ष २०८०/८१ – ७,२२१
माथिको तथ्यांक हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दै गइरहेको छ । गत आव २०८०/०८१ मा सबैभन्दा बढी मानिसले झुन्डिएर आत्महत्या गरेको पाइन्छ । गत आवको आत्महत्याको दरलाई निम्नअनुसार प्रस्तुत गरिएको छ :
झुन्डिएर – ८५ प्रतिशत
विष खाएर – १३ प्रतिशत
हाम फालेर – ०.७ प्रतिशत
डुबेर – ०.६६ प्रतिशत
हातहतियार प्रयोग गरेर – ०.२५ प्रतिशत
आगो लगाएर – ०.०९ प्रतिशत
करेन्ट लगाएर – ०.०१ प्रतिशत
महिलाहरुमा आत्महत्याको सोचाइ धेरै आएको देखिए पनि आत्महत्या गर्ने पुरुषको संख्या महिलाको भन्दा दोब्बर देखिएको छ ।
मानिसहरु किन आत्महत्या गर्छन् ?
मानिसले आत्महत्या गर्ने कारण धेरै छन् । सबैभन्दा महत्वपूर्ण कारणका रुपमा डिप्रेसनलाई लिन सकिन्छ । लगभग ८० प्रतिशत आत्महत्याको कारण डिप्रेसन हुने गरेको छ । त्यसैले समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटना रोक्न सकिन्छ ।
डिप्रेसनका प्रमुख तीन लक्षणमा मन खुसी नहुने, रमाइलो लाग्ने कुरामा पनि मन नलाग्ने र शरीर थकित महसुस हुने हुन् । अरु लक्षणहरुमा निद्रा नलाग्नु, खाना रुची नहुनु, कुनै कुराको पश्चाताप हुनु, आत्मविश्वास गुम्नु आदि पर्छन् ।
डिप्रेसन कसरी हुन्छ ?
(१) आर्थिक समस्या
अहिलेको कोभिडपछिको समयमा मानिसको आम्दानी घट्नु, बैँकको ऋण तिर्न नसक्नु, घरखर्च चलाउन नसक्नुलगायतका कारणले डिप्रेसन भएको पाइन्छ ।
(२) पारिवारिक कलह
श्रीमान श्रीमती, प्रेमीप्रेमिकाको बीचमा कुरा नमिल्नु, झगडा भइरहनु, सम्बन्ध बिग्रेर जानु पनि डिप्रेसनको कारण हुनसक्छ ।
(३) कडा रोगको सिकार हुनु
ब्रेन स्टोक, क्यान्सरजस्ता रोगले ग्रस्त भएमा पनि डिप्रेसन हुनसक्छ ।
(४) सोचेजस्तो गर्न नसक्नु
परीक्षा वा कुनै काममा आफूले सोचेजस्तो गर्न नसक्नु वा अरुले त्यसको कदर नगर्नुले पनि डिप्रेसन गराउन सक्छ ।
स्क्रिजोफ्रेनिया, रक्सीको कुलत, एन्टोसोसियल, पर्सनालिटी डिसअर्डर जस्ता रोग लागेका मानिसले पनि आत्महत्या गरेको देखिएको छ ।
कसैले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने ?
– कसैले आत्महत्या गर्छ कि गर्दैन भनेर पक्का भन्न त सकिँदैन तर कहिलेकाहिँ हामीले यस्ता संकेत पाउन सक्छौँ, जसलाई ध्यान दिन सके आत्महत्या रोक्न सकिन्छ ।
– कसैले मलाई मर्न मन लागेको छ वा म आत्महत्या गर्छु भन्छ भने त्यसलाई हल्का रुपमा लिनु हुँदैन । उसलाई कुन समस्याले यस्तो भयो त्यो बुझ्ने कोशिश गर्नुपर्छ ।
– कोही परिवारभन्दा अलग बस्न थाल्यो, साना–साना कुरामा पनि रिसाउन थाल्यो, रुन थाल्यो भने पनि उसलाई केही समस्या छ भनेर बुझ्नुपर्छ ।
– कसैले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा निराशाजनक अभिव्यक्ति राख्छ भने पनि त्यसमा ध्यान दिनुपर्छ ।
– हालसालै कठिन परिस्थितिबाट गुज्रिएको छ भने जस्तै: नजिकको मानिसको मृत्यु भएको वा आफूबाट टाढा भएको भए ।
– आफूलाई मनपर्ने कुरा पनि अरुलाई दिएको, पुराना कुरामा क्षमा मागेको, इन्टरनेटमा मर्ने तरिकाहरुको बारेमा खोज गरेको र भविष्यको बारेमा कुनै पनि योजना नबनाएको छ भने पनि याद गर्नुपर्ने हुन्छ ।
के आत्महत्या रोक्न सकिन्छ ?
माथिका संकेत बुझेर उपचारमा लागियो भने धेरै मात्रामा आत्महत्या रोक्न सकिन्छ ।
मनोचिकित्सकसँग भेट र मनोपरामर्श
मनोचिकित्सक भन्नाले मानसिक रोग जस्तै: डिप्रेसन, स्क्रिजोफ्रेनिया, रक्सी गाँजाको कुलत आदिको सही पहिचान र उपचार गर्न सक्ने विशेषज्ञ हुन् । मनोचिकित्सकले बिरामीको समस्या बुझेर आवश्यक औषधि र उचित परामर्श दिने काम गर्छन् ।
मनोविद्ले पनि साइकोथेरापीको माध्यमबाट बिरामीको मनोबल उच्च बनाउने काम गर्छन् । सरकारले आत्महत्याको सोच आएमा त्यसमा आवश्यक मद्दत लिनका लागि एउटा निःशुल्क नम्बर उपलब्ध गराएको छ । पाटन मानसिक अस्पतालबाट सञ्चालित ११६६ नम्बरमा फोन गरेर समस्या कसरी समाधान गर्ने सल्लाह लिन सकिन्छ ।
मानसिक रोगहरुमा मानिस अस्पताल जान नखोज्ने प्रवृत्ति पनि आत्महत्या वृद्धि हुने एउटा कारण हो । त्यसका लागि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अरु अस्पतालले इन्टरनेटको प्रयोगबाट डाक्टरसँग भेट गर्नसक्ने प्रविधि भित्र्याएका छन् । यो पनि आत्महत्या कम गर्न सक्ने उपयुक्त विकल्प हुनसक्छ ।
(लेखक डा. पोखरेल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ हुन् ।)
यो पनि पढ्नुहोस्
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal