• Menu

बर्खायाममा कान किन धेरै पाक्छ ? उपचार कसरी गर्ने ?

नेपाल प्रफिट

२०८१ साउन १४, १०:५८

बर्खायाममा कान किन धेरै पाक्छ ? उपचार कसरी गर्ने ?

काठमाडौं । बर्खायाममा धेरै मानिसमा कान पाक्ने समस्या हुन्छ । बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन (ओटोमाइकोसिस) को समस्या हुन्छ । यो साझा समस्या हो ।

कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । बर्खायाममा मानिसहरु धेरै खेतबारीमा काम गर्ने गर्छन् । उक्त समयमा धेरै वर्षासमेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्या हुने गर्छ ।

यसका अतिरिक्त गर्मी महिनामा धेरै मानिस पौडी खेल्नसमेत विभिन्न पोखरी तथा स्विमिङ पुलमा जाने गर्छन् । पौडी खेल्न जाँदा कानभित्र पानी पसेर इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । कानको जाली फुटेको रहेछ भने झन् इन्फेक्सन हुने सम्भावना बढी हुन्छ ।

पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ । बर्खाको समयमा कानको समस्या लिएर धेरै मानिस आउने गरेका छन् । बच्चाहरुले ठूलो आवाज बनाएर टिभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ । यस्तो अवस्थामा कानको जाँच गराउनुपर्छ ।

हिजोआज ग्रान्डी अस्पतालमा कानसँगै नाकका बिरामीसमेत बढी मात्रामा आउने गरेका छन् । नाक बन्द हुने, हाछ्युँ आउने तथा पिनासका कारण टाउको दुखेका बिरामीहरु यस अस्पतालमा बढी आउने गरेका छन् । घाँटीको एलर्जी र इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै आउँछन् ।

कानको रोगका लक्षण

– कान चिलाउने

– कान अत्यधिक दुख्ने

– कान डम्म हुने

– कान भित्रबाट पिप वा पानी बग्ने ।

अधिकांश मानिसले कान अत्यधिक चिलाउने, पाक्ने वा दुख्ने गर्‍यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले ‘एयर बड’ले कान कोट्याउने गरेको पाइन्छ । यसरी अनावश्यक रुपमा औषधि, तेल वा कान कोट्याउँदा कानको जाली फुट्ने समस्या हुन्छ ।

उपचार विधि

कान अत्यधिक चिलाउने, दुख्ने, डम्म हुने वा कानभित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककहाँ गएर देखाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा कानको जाली फुट्दासमेत कान दुख्न सक्छ । यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएरमात्र औषधिको प्रयोग गर्नुपर्छ ।

यसबाट कसरी बच्ने ?

– पौडी खेल्न जाँदा एयर प्लग लगाउने ।

– पौडी खेल्दा कान छोप्ने ।

– डाइभ भरसक नगर्ने ।

– पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने भयो भने विशेषज्ञलाई देखाउने ।

कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन । धेरै भएमा चिकित्सकको सल्लाहबमोजिम उचित ढंगले हटाउनुपर्छ । ‘एयर बड’ले कानेगुजी हटाउँदैन ।

बडको प्रयोग गर्दा उल्टो कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले बडको प्रयोग नगर्नु राम्रो हुन्छ । कानले कानेगुजी आफैँ सफा हुने मेकानिज्म बनाएको हुन्छ ।

कानले जति कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आफैँ फाल्छ । कान पाक्ने समस्यासम्बन्धी आम जनमानसमा जनचेतना फैलाउन जरुरी छ ।

(नाक, कान, घाँटी विशेषज्ञ डा. आनन्द घिमिरे १० वर्षदेखि काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् । उनी अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख हुन् ।)