• Menu

ठूलै चलखेल र रस्साकस्सीपछि नेपाल टेलिकमले पायो नेतृत्व, संगीता पहाडी बनिन् प्रबन्ध निर्देशक

नेपाल प्रफिट

२०८१ भदौ २१, शुक्रबार ०७:२५

ठूलै चलखेल र रस्साकस्सीपछि नेपाल टेलिकमले पायो नेतृत्व, संगीता पहाडी बनिन् प्रबन्ध निर्देशक

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पहाडीलाई चार वर्षका लागि प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव रामकृष्ण सुवेदी संयोजक रहेको छनोट समितिले पहाडीसहित अनिलकुमार झा र डा. विमल आचार्यलाई एमडीका लागि सिफारिस गरेको थियो । सोही सिफारिस मध्येबाट उनी एमडी नियुक्त भएकी हुन् ।

पहाडीले २०८० असोज १७ देखि टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाएकी थिइन् ।

नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् ।

२०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर उनी सेवा प्रवेश गरेकी हुन् । २०५१ फागुन १० गते उनले स्थायी नियुक्ति पाएकी थिइन् ।

तीन महिनामा बल्ल छनोट

२०८० असोज १५ मा नेसनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टचारको मुद्दा चलेपछि तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परे । २०८१ वैशाख ७ मा पौडेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो । त्यसपछि जेठ २२ मा नयाँ एमडी छान्न सूचना प्रकाशित भएको थियो ।

प्रबन्ध निर्देशक पदका लागि १५ दिनको समय दिएर सूचना जारी भएकोमा १७ जनाले आवेदन दिएका थिए । नेपाल टेलिकममै कार्यरत इन्जिनियर सुवास साहको योग्यता नपुगेपछि दरखास्त अस्वीकृत भएको थियो ।

पहाडीसहित प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, शालिग्राम पराजुली, चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास, रमेशप्रसाद जोशी, डा. विमल आचार्य, केदारनाथ कोइराला, अनन्तप्रकाश मल्लिक, बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, लक्ष्मण महर्जन, कमल लामिछाने र राजेश जोशी प्रतिस्पर्धामा थिए ।

जेठ २२ देखि सुरु भएको नेपाल टेलिकमको एमडी नियुक्ति प्रक्रिया सत्ता समीकरण फेरबदल भएसँगै अलमलमा परेको थियो ।

सञ्चार मन्त्रालयका तत्कालीन सचिव सुवेदी संयोजक तथा पूर्वसचिव हरि बस्याल र मन्त्रालयका सहसचिव बाबुराम भण्डारी सदस्य रहेको प्रबन्ध निर्देशक छनोट सिफारिस समितिले टेलिकमको प्रबन्ध निर्देशक छनोट अघि बढाएको थियो ।

समितिले असार २०, २१ र २२ गते प्रतिस्पर्धीको अन्तर्वार्ता लिएको थियो । नयाँ राजनीतिक समीकरण बनेपछि एमाले नेताहरुले सिफारिस प्रक्रिया रोक्न निकै दबाब बढाएका थिए । तर, छनोट समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता प्रक्रियापछि प्रबन्ध निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गर्‍यो । प्रक्रिया रोक्ने कि यसैलाई अघि बढाउने भन्नेमा चलखेल हुँदा नियुक्ति प्रक्रिया धकेलिएको हो । प्रक्रिया रद्द गर्दा कानुनी उल्झन आउने भएकाले उनीहरु मध्येबाटै सरकारले पहाडीलाई एमडी बनाउने निर्णय गरेको बुझिएको छ ।

तीव्र चलखेल

टेलिकमको एमडी बन्न यसबीचमा तीव्र चलखेल भयो । तत्कालीन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सिफारिस भएका नामबाटै एमडी छान्ने कि नयाँ प्रक्रिया अघि बढाउने भन्नेमा ठूलै रस्साकस्सी चलेको थियो ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल यिनै नाम मध्येबाट पहाडीलाई एमडी बनाउनुपर्ने पक्षमा थिए भने डा. अजय क्रान्तिको समूहले अहिलेको प्रक्रिया नै खारेज गर्नुपर्नेमा दबाब बढाएको थियो ।

बिहीबार मन्त्रिपरिषद बैठक बस्नु अघिसम्म पनि पहाडीलाई रोक्न ठूलै चलखेल भएको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।

कतिपय प्रतिस्पर्धीले मन्त्री र नेताका घर र अड्डा खुबै धाए । नेकपा एमालेको आईटी विभागमा रहेका प्रतिस्पर्धी शालिग्राम पराजुलीले एमडी बन्नका लागि सुरुमा ‘प्रचण्ड’ पुत्रीहरु भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र गंगा दाहालमार्फत प्रयास गरे ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग निकट सम्बन्ध रहेका पराजुलीले उनीमार्फत पनि टेलिकमको नेतृत्वमा पुग्न अधिकतम प्रयास गरे । सत्ता परिवर्तनपछि उनले एमाले नेताहरुमार्फत लबिङ गरे । एमाले उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पटक-पटक भेटे तर सकेनन् ।

के हुन्छ सुविधा ?

टेलिकम प्रबन्ध निर्देशकको सेवा अवधि चार वर्षको हुन्छ । एमडीको पारिश्रमिक मासिक दुई लाख ५० हजार हुन्छ भने घरभाडाबापत मासिक ६० हजार रुपैयाँ पाउँछन् ।

काठमाडौंमा घर भए एक वर्षमा एक महिनाको मासिक पारिश्रमिक बराबर घर मर्मत खर्च, चाडपर्व खर्च, अतिथि सत्कार खर्च, यातायात सुविधा, वार्षिक १० लाख रुपैयाँको दुर्घटना बिमा र ५ लाख रुपैयाँको औषधि उपचार बिमालगायत सेवा सुविधा हुन्छ ।