• Menu

पाँच वर्षका लागि नवीकरण भयो एनसेलको लाइसेन्स

नेपाल प्रफिट

२०८१ भदौ १७, १४:५४

पाँच वर्षका लागि नवीकरण भयो एनसेलको लाइसेन्स

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको अनुमति पत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । भदौ १३ मा बसेको मन्त्रिपरिषद बैठकले सर्तसहित लाइसेन्स नवीकरण गर्ने निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार एनसेलको लाइसेन्स नवीकरण गरेको हो ।

एनसेलको लाइसेन्सको म्याद आइतबार नै सकिएको थियो । दूरसञ्चार प्राधिकरणका प्रवक्ता एवं निर्देशक सन्तोष पौडेलले एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि लाइसेन्स नवीकरण भएको जानकारी दिए । एनसेलले जेठ १४ मा ४ अर्ब रुपैयाँ बुझाएको थियो ।

सर्तअनुसार अब एनसेलले प्रत्येक वर्ष भदौ १५ भित्र नवीकरण दस्तुरबापत पाँच अर्ब र १० प्रतिशत ब्याज रकम तिरेर लाइसेन्स नवीकरण गर्नुपर्नेछ । एकमुष्ट नवीकरण दस्तुर तिर्न नसक्ने भन्दै एनसेलले किस्ताबन्दी सुविधा उपलब्ध गराउन आग्रह गरेपछि सरकारले १० प्रतिशत ब्याज थप्ने गरी किस्ताबन्दी सुविधा दिएको हो ।