• Menu

सन्दर्भ : विश्व फोक्सो दिवस

फोक्सोलाई कसरी स्वस्थ्य राख्ने ?

नेपाल प्रफिट

२०८१ असोज ९, बुधबार १०:४२

फोक्सोलाई कसरी स्वस्थ्य राख्ने ?

हामी हरेक वर्ष सेप्टेम्बर २५ लाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै आएका छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाउन लागिएको छ । यस लेखमा फोक्सोले कसरी काम गर्छ र फोक्सोलाई कसरी स्वस्थ राख्ने भन्ने तरिकाहरुको बारेमा संक्षिप्तमा जानकारी दिने प्रयास गरिएको छ ।

सास फेर्ने प्रक्रिया

सास फेर्दा हामी नाक वा मुखबाट हावा लिन्छौँ । यो हावा नासिका मार्ग वा मुखबाट स्वासका नलीहरु हुँदै फोक्सोमा पुग्छ । फोक्सोका सानो एयर स्याकहरू, जसलाई एल्वियोली भनिन्छ, यहाँ अक्सिजन र कार्बन डाइअक्साइडको आदानप्रदान हुन्छ । रगतले एल्वियोलीबाट अक्सिजन ग्रहण गर्छ र कार्बन डाइअक्साइडलाई वायुमार्गबाट नाक वा मुखबाट निस्किन्छ ।

फोक्सो आफैंले सास तान्न सक्दैन । सास फेर्ने प्रक्रियामा प्रमुख भूमिका खेल्ने मांसपेशीहरूमा डायफ्राम र छातीका मांसपेशी (इन्टरकोस्टल मांसपेशीहरू) पर्छन् । डायफ्राम छातीको तल्लो भागमा एक गुम्बज आकारको मांसपेशी हो । यसले फोक्सोलाई फुल्न र खुम्चन मद्दत गर्छ ।

इन्टरकोस्टल मांसपेशीहरू करङका हड्डीको बीचमा अवस्थित हुन्छन् । यी मांसपेशीहरूले छातीको केजलाई फुल्न र खुम्चन मद्दत गर्छन् । यिनै मांसपेशीहरुको मद्दतले हामी स्वास फेर्छौं ।

फोक्सोका महत्वपूर्ण कार्य

  • अक्सिजन आपूर्ति कार्बन डाइअक्साइड हटाउने : फोक्सोले शरीरमा अक्सिजन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ । सास फेर्दा वातावरणबाट अक्सिजन लिन्छ र शरीरमा उत्पन्न भएको कार्बन डाइअक्साइडलाई फोक्सोबाहिर फ्याँक्छ, जसले शरीरलाई स्वस्थ राख्छ र रक्तसञ्चारको शुद्धीकरण गर्छ । ।
  • रोग प्रतिरोधात्मक क्षमता : फोक्सोमा साना रौं जस्ता सिलिया हुन्छन्, जसले धुलो, किटाणु र अन्य हानिकारक कणलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले शरीरलाई रोगबाट जोगाउँछ ।
  • ध्वनि उत्पादन : फोक्सोले नाक र मुखमार्फत सासको प्रवाहलाई व्यवस्थित गरेर स्वर यन्त्र (larynx) मा ध्वनि उत्पादनमा सहयोग पुर्‍याउँछ ।
  • अम्ल-क्षारको सन्तुलन : हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सोभित्र तानिरहेका हुन्छौँ । एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११ हजार लिटर जति हावा लिन्छौँ । प्रदूषित हावामा धुलोको कण तथा हानिकारक ग्याँस मिसिएको हुन्छ ।

हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कण तथा हानिकारक ग्याँसहरु पनि फोक्सोभित्र प्रवेश गर्छ, जसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागमा समेत क्षति पुर्‍याउन सक्छ ।

वायु प्रदुषण, जलवायु परिवर्तन र जीवनशैलीमा आएको परिवर्तनका कारण फोक्सोका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् । जसका कारण विशेष गरी दमको समस्या, फोक्सोको क्यान्सरको समस्या बढ्दो क्रममा रहेको छ ।

फोक्सोका महत्वपूर्ण रोग

दम (सीओपीडी/ आस्थ्मा) : यो एक दीर्घकालीन समस्या हो । यसका लक्षणहरू खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सीटी बज्ने र छातीको दुखाइ आदि हुन् ।

फोक्सोको क्यान्सर : फोक्सोको क्यान्सर एक गम्भीर रोग हो, जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन् । धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो ।

निमोनिया : निमोनिया फोक्सोको संक्रमण हो । यो विभिन्न कारणले हुनसक्छ । जस्तै: ब्याक्टेरिया, भाइरस वा फंगस । निमोनियाका लक्षणहरूमा खोकी, ज्वरो, छाती दुखाइ र सास फेर्न गाह्रो हुने समावेश छ ।

क्षयरोग (टीबी) : यो एक संक्रामक रोग हो । यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाबाट हुन्छ । एसले मुख्यत: फोक्सो र शरीरका अन्य अंगमा संक्रमण गर्छ ।

फोक्सोलाई स्वस्थ राख्ने र रोग लाग्नबाट बचाउने केही सरल उपाय

प्रदूषणबाट फोक्सोलाई बचाउने केही उपाय

  • धुलो, धुँवा, ढुसी आदि हटाउन घर नियमित सफा गर्ने ।
  • घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित झ्याल र ढोका खोल्ने बानी गर्ने ।
  • अरुले गरेको धुम्रपानबाट बच्ने र अरुलाई पनि धुम्रपान नगर्न परामर्श दिने ।
  • खाना पाकाउन, कोठाहरु तताउन कम प्रदूषण हुने इन्धन प्रयोग गर्ने ।
  • वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्ने ।
  • प्रदूषित क्षेत्रमा जानुपर्दा एन-९५ मास्क लगाउने ।
  • प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्ने ।

फोक्सोको स्वास्थ्यलाई कायम राख्न आहार र व्यायामले महत्वपूर्ण भूमिका खेल्छन् । स्वस्थ आहारमा हरियो सागपात, फलफूल समावेश गर्नुपर्छ । साथै, नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार गर्छ ।

विशेषगरी, गहिरो सास फेर्ने अभ्यास, दौडने, पौडी खेल्ने र योगजस्ता शारीरिक क्रियाकलापले फोक्सोको कार्यक्षमता बढाउँछ । फोक्सोको संक्रमणबाट जोगाउन संक्रमित व्यक्तिको वरपर नजाने, सामाजिक दूरी कायम राख्ने, हात धुने, माक्सको प्रयोग गर्ने, आफूलाई संक्रमण भए सावधानी अपनाउने आदि गर्नुपर्छ ।

प्रशस्त झोल कुरा पिउनु पनि स्वास्थ्यका लागि महत्वपूर्ण छ । पानीले फोक्सोको कार्यलाई सुधार गर्न मद्दत गर्छ । पर्याप्त पानीले फोक्सोको कफलाई पातलो बनाउँछ । जसले श्वासप्रश्वासलाई सहज बनाउँछ ।

फोक्सोको स्वास्थ्यलाई जोगाउन खोप पनि महत्त्वपूर्ण हुन्छ । फ्लु र निमोनियाबाट बच्नका लागि खोपले केही हदसम्म फोक्सोलाई संक्रमणबाट जोगाउँछ ।

(डा. रवि महत ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका श्वासप्रश्वास रोग विशेषज्ञ हुन् ।)