• Menu

नेपाल टेलिकमको आम्दानी ४१ अर्ब ६१ करोड, खुद नाफा ६ अर्ब ६१ करोड

नेपाल प्रफिट

२०८१ साउन ३१, ११:४१

नेपाल टेलिकमको आम्दानी ४१ अर्ब ६१ करोड, खुद नाफा ६ अर्ब ६१ करोड

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको आम्दानी घटेको छ । ओटीटी सेवा (भाइबर, म्यासेन्जस, ह्वाट्स एप)ले भ्वाइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परेपछि कम्पनीको आम्दानी प्रभावित भएको हो ।

गत आर्थिक वर्षमा नेपाल टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपाल टेलिकमले ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको थियो । खुद आम्दानी घटेका कारण गत वर्ष खुद नाफा पनि ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको खुद नाफा गत वर्ष अघिल्लो वर्षको तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँले घटेको हो । अघिल्लो वर्ष नेपाल टेलिकमले ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

नेपाल टेलिकमको कुल सञ्चालन आयमा पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कुल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ रहेकोमा गत आवमा ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३६.७७ रुपैयाँ छ । कम्पनीको करअघिको नाफा पनि घटेको छ । अघिल्लो वर्ष ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार रुपैयाँ रहेको करअघिको नाफा गत वर्ष ११ अर्ब ७७ करोड ९८ लाख ४ हजार रुपैयाँमा झरेको छ ।

खुद नाफा कम हुनुमा बढ्दो ओटीटी सेवाका कारण अन्तर्राष्ट्रिय सेवा तथा अन्तरआबद्धता आयमा कमी हुनु हो । ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमा पनि नकारात्मक प्रभाव परेको छ ।