काठमाडौं । गत साता सेयर बजार परिसूचक २१९ अंकले उकालो लाग्यो । सबै उपसमूहमा हरियाली छाउँदा अघिल्लो साताको बिहीबार २२०४.६१ अंकमा रहेको नेप्से परिसूचक गत साताभरमा २१९.७१ अंकले बढेर २४२४.३२ अंकमा पुग्यो ।
साताभरमा चार दिन नेप्से परिसूचक बढ्यो भने एक दिन घट्यो । आइतबार ५२.९७ अंकले बढेको बजार सोमबार १७.१८ अंकले घटेको थियो ।
बाँकी तीन दिन नै बजार उच्च अंकले बढ्यो । मंगलबार ७०.१८, बुधबार ५४.०४ र बिहीबार ५९.६८ अंकले बजार बढेको हो ।
साताको कारोबार रकम पनि उत्साहजनक छ । साताभरमा ५२ अर्ब ५० करोड ९८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
आइतबार ७ अर्ब ३२ करोड, सोमबार ८ अर्ब ६३ करोड, मंगलबार ९ अर्ब ७ करोड, बुधबार १२ अर्ब र बिहीबार १५ अर्ब ४७ करोड रुपैयाँभन्द बढीको सेयर किनबेच भएको नेप्सेको तथ्यांकले देखाएको छ ।
बजारमा तरलता बढेर लगातार ब्याजदर ओरालो लाग्दा सेयर बजार ‘बुलिस ट्रेन्ड’ समातेको अनुमान भइरहेको छ । सामान्यत: ब्याजदर घट्दा सेयर बजार बढ्छ भने ब्याजदर बट्दा सेयर बजार बढ्छ ।
अहिले बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज उच्च दरमा घटाएका छन् । कर्जाको माग उच्च भएका बेला २०७९ फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर २०८१ जेठमा २२.१० प्रतिशतले घटेर १०.१५ प्रतिशतमा झरेको छ । ब्याजदर १५ महिनामा २.८८ प्रतिशत विन्दुले घटेको हो । त्यस्तै आधार दर १०.६४ प्रतिशतबाट ८.१७ प्रतिशतमा झरेको छ ।
बैंकमा पैसा राख्दा प्राप्त हुने ब्याज प्रतिफलभन्दा बढी आम्दानी सेयर बजारबाट हुने स्थितिमा लगानीकर्ताले बैंकको निक्षेप झिकेर सेयर बजारमा हाल्ने गर्छन् । अहिले त्यस्तै परिस्थिति देखिएको छ ।
असारमा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ६.९१ प्रतिशत ब्याज दिएका थिए । हिमालयन बैंक र एनआईसी एसियाले सर्वाधिक ८.२५ प्रतिशत ब्याज दिएका थिए भने अरु सबै बैंकको ब्याज ८ प्रतिशतभन्दा तल थियो ।
कृषि विकास बैंक र एभरेस्ट बैंकले त व्यक्तिगत निक्षेपमा ६ प्रतिशतभन्दा पनि कम ब्याज दिएका थिए । असारमा कृषिले ५.६६ र एभरेस्टले ५.७५ प्रतिशत ब्याज दिएका थिए ।
ब्याजदर न्यून विन्दुमा आएकै कारण नेप्से परिसूचक बढेको विश्लेषकहरु बताउँछ्न् । ब्याजदर घटेको र लगानीकर्ताको मनोबल बढेका कारण नेप्सेले साइडवेज तोडेर बुलिस बजारलाई पछ्याएको सेयर बजार विश्लेषक रविन्द्र भट्टराई बताउँछन् ।
‘जब साइडवेज बजारको अवरोधलाई तोडेर बजार माथि जान्छ, यसलाई ब्रेकआउट भनिन्छ भने टेवालाई तोडेर बजार तल गएमा यसलाई ब्रेकडाउन भनिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ब्रेकआउटले बुलिस बजारलाई पछ्याउछ भने ब्रेकडाउनले बियरिस बजारलाई पछ्याउँछ ।’
असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण गर्ने सहमति भए पनि सेयर बजार सोही दिन १६ अंकले बढेको थियो । त्यसयता नेप्से परिसूचक २८७.२३ अंकले बढिसकेको छ ।
तर, सेयर बजारका सम्बन्धमा फरक धारणा राख्ने पूर्वअर्थमन्त्री एवं पूर्वगभर्नर डा. युवराज खतिवडा प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएकाले सेयर बजार प्रभावित हुनसक्ने आकलन गरिएको छ ।
नेपाल राष्ट्र बैंकले असार ४ गते शुक्रबार नै चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरिरहेका बेला डा. खतिवडाको नियुक्तिसँगै मौद्रिक नीति सार्वजनिक हुन सकेन । उनको नियुक्ति असार ३ गते साँझ भएको हो ।
डा. खतिवडाले विभिन्न सार्वजनिक फोरममा मौद्रिक नीतिप्रति भिन्न धारणा राख्दै आएका छन् । कर्जा विस्तारका लागि लचिलो मौद्रिक नीति ल्याउने गभर्नर महाप्रसाद अधिकारीको तयारीका बीच खतिवडाले दिने सुझावले समग्र अथतन्त्रका साथै सेयर बजरलाई पनि प्रभावित पार्ने अनुमान गरिएको हो ।