काठमाडौं । वित्तीय प्रणालीमा लगानीयोग्य रकम (तरलता) उच्च भएपछि कर्जाको ब्याजदर लगातार ओरालो लागेको छ । तरलता उच्च भए पनि कर्जाको माग सुस्ताएपछि ब्याजदर घटाउन बैंक तथा वित्तीय संस्था बाध्य भएका हुन् ।
कर्जाको माग उच्च भएका बेला २०७९ फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर २०८१ जेठमा २२.१० प्रतिशतले घटेर १०.१५ प्रतिशतमा झरेको छ । ब्याजदर १५ महिनामा २.८८ प्रतिशत विन्दुले घटेको हो । त्यस्तै आधार दर १०.६४ प्रतिशतबाट ८.१७ प्रतिशतमा झरेको छ ।
तरलता उच्च भएपछि वाणिज्य बैंकसँगै विकास बैंक र वित्त कम्पनीले पनि कर्जाको ब्याज घटाएका छन् । २०८० जेठमा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १४.४७ प्रतिशत रहेकोमा २०८१ जेठमा ११.६३ प्रतिशतमा झरेको छ । त्यस्तै सोही अवधिमा वित्त कम्पनीहरुको ब्याजदर १५.०६ प्रतिशतबाट १२.८५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
अहिले वित्तीय प्रणालीमा ६ खर्ब ३२ भन्दा बढी तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । असार २४ को तथ्यांकअनुसार बैंक वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ३३ अर्ब रुपैयाँ छ भने कुल कर्जा प्रवाह ५१ खर्ब ५७ अर्ब छ ।
कर्जाको माग बढ्न नसकेपछि निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ७८.१३ प्रतिशतमा झरेको छ । यसको अर्थ बैंकहरु क्षमताभन्दा ११.८७ प्रतिशत थप लगानी गर्न सक्ने अवस्थामा छन् । प्राथमिक पुँजीको दबाबमा रहेका बैंकहरुको भने लगानीयोग्य रकम भएर पनि कर्जा प्रवाह गर्ने क्षमता नरहेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४६ अर्ब ८० करोड रुपैयाँ (५.१ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा कर्जा १५७ अर्ब ३६ करोड रुपैयाँ (३.४ प्रतिशत) ले मात्र बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले, विकास बैंकहरुको ४.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको छ ।
कर्जाको माग नभएर पैसा थुप्रिएपछि बैंक वित्तीय संस्थाले निक्षेपको ब्याज पनि उसैगरी घटाएका छन् । २०८१ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.१७ प्रतिशत, विकास बैंकहरुको ७.०७ प्रतिशत र वित्त कम्पनीहरुको ८.२८ प्रतिशत छ । २०८० जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.९९ प्रतिशत, विकास बैंकहरुको ९.४५ प्रतिशत र वित्त कम्पनीहरुको १०.१८ प्रतिशत थियो ।