• Menu

वाइ वाइद्वारा क्यानलाई १० लाख रूपैयाँ हस्तान्तरण

नेपाल प्रफिट

२०८१ साउन २, बुधबार १५:४४

वाइ वाइद्वारा क्यानलाई १० लाख रूपैयाँ हस्तान्तरण

काठमाडौँ । चौधरी ग्रुपमातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टि-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सीजी फुड्सले गरेको घोषणाअनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीलाई प्रोत्साहन स्वरुप वाइ वाइले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार र प्रत्येक छक्काका लागि १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो ।

त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख उपलब्ध गराउने वाइ वाइको घोषणा थियो ।

सोही घोषणाबमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनअनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी हस्तान्तरण गरिएको हो ।

बुधबार ललितपुरको होटल भिभान्तामा आयोजित समारोहबीच सी जी फुड्सका सीईओ प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा सीईओ पुडासैनीले टी-२० विश्वकपमा सहभागी राष्ट्रिय टिममा आबद्ध खेलाडीलाई नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहराउन सफल भएकोमा बधाई एवं धन्यवाद दिए ।

‘चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउन्डेसन निर्माणमा योगदान गर्दै आएको छ । अहिले हाम्रो राष्ट्रिय टिम टी-२० विश्वकपमा खेल्नुलाई म ठूलो उपलब्धि मान्छु,’ उनले भने, ‘निकट भविष्यमा नेपाली राष्ट्रिय टिमले महत्वपूर्ण उपाधिसहित नेपाललाई गौरवान्वित गराउनेछ भन्ने मलाई विश्वास छ ।’ चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने जानकारी पनि उनले दिए ।

त्यस्तै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पुर्‍याउँदै आएको योगदान उच्च रहेको बताए । वाइ वाइले प्रायोजन गरेको यू-१९ प्रतियोगितामा आफूले वाइ वाइको जर्सी लगाएर मैदानमा खेलेको पनि राष्ट्रिय टिमका पूर्व कप्तान खड्काले स्मरण गरे ।

नेपाल आईसीसी टि-२० विश्वकपमा खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अन्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजनबापत ३० लाख तथा अन्य क्रिकेट गतिबिधि सञ्चालनका लागि ३० लाख गरी ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको छ ।

वाइ वाइले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाइ वाइ क्रिकेट ‘प्रेडिक्ट एन्ड विन कन्टेस्ट’ सञ्चालन गरेको थियो । जसअन्तर्गत प्रथम, दोस्रो, तेस्रो पुरस्कार विजेतालाई क्रमशः १ लाख, ५० हजार, २५ हजार रुपैयाँ तथा टुर्नामेन्ट प्रेडिक्सनअन्तर्गत चार जना प्रत्येक विजेतालाई १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको छ ।