काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका दुई ठुला दल मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आमनागरिकमा उत्साह बढेको बताएका छन् ।
महासंघ अध्यक्ष ढकालले राजनीतिक र नीतिगत अस्थिरता स्वदेशी तथा विदेशी दुवै लगानी बढ्न नसकेको एउटा प्रमुख कारण रहेको परिप्रेक्ष्यमा संसदमा रहेका दुई ठुला दल मिलेर सरकार निर्माण गर्दा लगानीकर्तामा आत्मविश्वास बढ्ने र आर्थिक गतिविधि बढ्ने अपेक्षा रहेको बताए ।
‘कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बावजुद राजनीतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो,’ उनले भने । ‘अहिले संसदका दुई ठुला राजनीतिक दल मिलेर सरकार निर्माण गरेका छन् । अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ ।’
नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । उनले सोमबार नै २१ सदस्यीय मन्त्रीपरिषद् गठन गरका छन् ।
ढकालले तीनपटक मुलुकको नेतृत्व गरिसकेको, निजी क्षेत्रमैत्री र विशिष्ट निर्णय क्षमताका कारण प्रधानमन्त्री ओलीको प्रधानमन्त्री कालमा निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले पहिलो दिननै मन्त्रिपरिषद्लाई पूर्णता दिई परिणाममुखी काम गर्न मन्त्रीहरुलाई दिएको निर्देशनले निजी क्षेत्रलगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश गएको उनले उल्लेख गरे ।
‘सरकार गठन प्रक्रियामा लामो समय लाग्ने र गठबन्धन दलहरुबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा निकै समय लाग्ने गरेको हाम्रो विगत छ तर प्रधानमन्त्री ओलीले पहिलो दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिएर सकारात्मक सन्देश दिनुभएको छ,’ उनले भने ।
त्यस्तै, उहाँले अर्थ मन्त्रालयमा यसअघि नै अर्थ मन्त्रालय सम्हालिसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको बताए ।
‘अर्थमन्त्रीको रुपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले आफूलाई एक सफल अर्थमन्त्रीको रुपमा स्थापित गरिसक्नुभएको छ । अहिलेको अर्थतन्त्रको चुनौती सामना गर्न उहाँ एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ । हामी निजी क्षेत्र उहाँसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधैँ तयार नै छौँ,’ उनले भने ।