• Menu

उद्योग वाणिज्य महासंघको विधान सर्वसम्मत पारित, अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट, दुई वरिष्ठ उपाध्यक्ष

नेपाल प्रफिट

२०८१ असार २४, २१:२५

उद्योग वाणिज्य महासंघको विधान सर्वसम्मत पारित, अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट, दुई वरिष्ठ उपाध्यक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान रहेकोमा अबदेखि फेरि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको हो ।

कार्यसमितिले सोमबार सर्वसम्मत विधान संशोधन गरेपछि महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिनुपर्ने स्थिति आएको छ । अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष नै निर्वाचनबाट चयन हुने भएको जानकारी दिए ।

यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भए पनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको थियो ।

अध्यक्ष ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए । यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए ।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुनेछ । संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

कार्यसमितिबाट संशोधित उक्त विधान आगामी मंसिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने अध्यक्ष ढकालले जानकारी दिए ।