• Menu

अन्तर्राष्ट्रिय विकास संघको २१औं बैठक सुरु, ६१ देशका २ सय प्रतिनिधि नेपालमा

नेपाल प्रफिट

२०८१ असार ४, ०९:३९

अन्तर्राष्ट्रिय विकास संघको २१औं बैठक सुरु, ६१ देशका २ सय प्रतिनिधि नेपालमा

काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१औं बैठक नेपालमा सुरु भएको छ । विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रमको मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । बैठक असार ७ सम्म चल्नेछ ।

बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्नेछ । बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गलगायत उच्च पदस्थ पदाधिकारीसहित ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् । अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन थियो ।

बैठकको आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आइडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिल्ने र पर्यटन प्रवर्धन र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

सहसचिव नेपालले साझेदारहरुसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे ।

कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ । बैठकमा आगामी तीन वर्ष आईडीएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायतका विषयमा छलफल हुनेछ ।

दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैंकको उक्त प्रकृतिको उच्चस्तरीय बैठकका लागि विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपाल मध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो ।

नेपालले ६ वर्षअघि आईडीए-१९ बैठक काठमाडौँमा गर्न डीसीस्थित विश्व बैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो ।

बैठकमा सहभागीले विश्व बैंकसमेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, ऊर्जा, जलवायु लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा आयोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम छ ।

सन् १९६० मा स्थापना भएको आईडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।

आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकलाई सहायता उपलब्ध गराउँदै आएको छ । यसपटक बैठकको प्रमुख एजेन्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।

हरेक तीन वर्षमा हुने आईडीएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । सो बैठकमार्फत विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोभिड १९ महामारीको सामना गर्न र हरियाली प्रवर्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो ।

विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ ।