• Menu

आईडीए बैठक : विकासोन्मुख मुलुकको आर्थिक विकास मुख्य एजेन्डा, नेपाललाई कूटनीतिक लाभको अवसर

नेपाल प्रफिट

२०८१ जेठ २७, १५:०७

आईडीए बैठक : विकासोन्मुख मुलुकको आर्थिक विकास मुख्य एजेन्डा, नेपाललाई कूटनीतिक लाभको अवसर

काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१औं बैठक नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो ।

असार ४ देखि ७ सम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । आईडीएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए ।

अन्तिममा ताजिकिस्तान र नेपाल मध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । नेपालले ६ वर्षअघि आईडीए-१९ बैठक काठमाडौँमा गर्न डीसीस्थित विश्व बैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो ।

उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् । अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको छ ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, नौ जना उपाध्यक्ष र पाँच जना डाइरेक्टर वासिङटनबाट नेपाल आउँदैछन् ।

यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सयभन्दा बढी प्रतिनिधि बैठकमा सहभागी हुने सहसचिव नेपालले जानकारी दिए ।

सन् १९६० मा स्थापना भएको आईडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।

आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकलाई सहायता उपलब्ध गराउँदै आएको छ । आईडीएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटक बैठकको प्रमुख एजेन्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।

सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा भएको बताए । उनले साझेदारहरुसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे ।

कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ । बैठकमा आगामी तीन वर्ष आईडीएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायतका विषयमा छलफल हुनेछ ।

बैठकपछि अध्यक्ष बंगासहितका उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न नौ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ ।

गत वैशाखमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए ।

त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यायमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आईडीए बैठकबारे कुराकानी गरेका थिए ।

हरेक तीन वर्षमा हुने आईडीएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । सो बैठकमार्फत विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोभिड १९ महामारीको सामना गर्न र हरियाली प्रवर्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो ।

विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ ।