• Menu

‘नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव’

नेपाल प्रफिट

२०८१ जेठ २९, १५:३७

‘नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव’

काठमाडौं । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार राजधानीमा आयोजना गरेको सूचना प्रविधि दशक र आगामी कार्यदिशा विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरुले नीतिगत सुधार र कानुनी अल्झन हटाई स्थिर नीति बनाउन सके ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सहज हुने बताएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत १० वर्षमा ३० खर्ब रुपैयाँको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्न सरकारले नीतिगत निर्णय गरी उद्योगलाई संरक्षण र प्रवर्धन गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको बताए ।

अर्थमन्त्री पुनले सूचना प्रविधिलाई प्राथमिकतामा राखी कानुनी आधार तयार गरी सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वका लागि उच्च स्तरीय आयोग गठन गर्ने जानकारी दिए ।

उनले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी त्यसको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइने जानकारी दिँदै कम्तीमा प्रत्येक प्रदेश समेटिने गरी १० वटा आईटी पार्क बनाउने योजना सरकारको रहेको बताए ।

कृषि, पर्यटन र ऊर्जा क्षेत्रलाई जस्तै सूचना प्रविधिसम्बन्धी सेवा उद्योगलाई निजी क्षेत्रले ‘ड्राइभ’ गर्ने भएकाले राज्यले व्यापार गर्न नखोजेको र करका विषयमा फेरि पनि छलफल गरी सुधार गर्न सकिने अर्थमन्त्रीले बताए ।

विदेशमा शारीरिक श्रमको सट्टा नेपालबाटै बौद्धिक श्रम गर्न सकिन्छ अनि आय आर्जनका लागि बिदेसिनु पर्दैन भन्ने मान्यता सूचना प्रविधि दशकले स्थापित गर्ने पनि उनको जिकिर छ ।

सरकारले सूचना प्रविधि क्षेत्रमा रहेका नीतिलाई पनि स्थिर र समयसापेक्ष बनाउने भन्दै डिजिटल पुस्तालाई सुहाउँदो गरी काम अघि बढाउनुपर्ने आवश्यकता रहेको पनि अर्थमन्त्री पुनले दोहोर्‍याए ।

आईटी क्षेत्रले युवा पुस्तालाई नेपालमै बस्न सक्ने वातावरण तयार गर्ने भन्दै सरकारले यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन खोजिरहेको धारणा उनको छ ।

अरु वस्तु तथा सेवा निर्यात गर्दा बल्लबल्ल डेढ खर्बको निर्यातमा पुगेको अवस्थामा आईटी क्षेत्रमा थोरै सहजीकरण गर्न सके वार्षिक ३ खर्बको निर्यातबाट आर्जन गर्न सकिने अनुभव यस क्षेत्रका विज्ञहरुको रहेको पनि उनले बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आईटी दशकको लक्ष्यमा पुग्न मन्त्रालयको नेतृत्वमा कार्यदल गठन गरिने स्पष्ट पार्दै हरेक वर्ष गर्नुपर्ने क्रियाकलापको स्पष्ट खाका कोरिने बताए ।

बजेटले सूचना प्रविधि क्षेत्रमा लिएका नीति कार्यान्वयनका लागि नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणले सोही अनुरुप बजेट बनाइरहेको बताउँदै उनले स्वदेशमा बनेका सफ्टवेयरलाई स्वदेशमै खपत गराउन सरकार लागि परेको पनि जानकारी दिइन् ।

काठमाडौं र बुटवलमा बन्ने सूचना प्रविधि पार्कमा निःशुल्क स्थान उपलब्ध गराउने र सार्वजनिक–निजी साझेदारीमा विभिन्न कार्यक्रम गरिने मन्त्री शर्माले बताइन् ।

डिजिटल इकोनोमी, स्टार्टअप र इनोभेसनको प्रवर्धन, रोजगारी सिर्जना, डिजिटल गभर्नेन्सको सुधारका लागि सरकारले आवश्यक नीति र कानुनको परिमार्जन गर्दै अघि बढ्ने दृढता पनि उनले व्यक्त गरिन् ।

उनले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाका रुपमा स्थापित गर्ने धारणा राखिन् । सूचना प्रविधिमार्फत् अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत् आर्थिक सामाजिक रूपान्तरण गर्न सकिने उनले स्पष्ट पारिन् ।

मन्त्री शर्माले २०७६ सालमा सुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । आईटी क्षेत्रमा १ लाख जनशक्ति कार्य गरिरहेको र सरकारसँग स्पष्ट तथ्यांक नभएकाले गाह्रो भइरहेको उनको भनाइ छ ।

नीतिगत अस्पष्ट र पुराना कानुन भएकाले समस्या भएको बताउँदै उनले विद्यमान कानुनले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने र त्यसका लागि कानुन सुधार गर्न सरकार लागि परेको जानकारी उनले दिइन् ।

सार्वजनिक–निजी साझेदारीमा ज्ञान पार्क बनाउने, स्नातक पढिरहेकालाई इन्टर्न गराउने, उद्यमशील वातावरण बनाउने, नवप्रवर्तन आयोग बनाउने कार्यहरु सूचना प्रविधि दशकका कार्यक्रम भएको पनि उनले बताइन् ।

साइबर सुरक्षा नीति २०८० जारी गरिएको जानकारी दिँदै नयाँ कानुन बनाउन सबैको सहयोग र सुझावको आवश्यकता महसुस गरिन् ।

कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले विगतमा ल्याएको पर्यटन र ऊर्जाको लक्ष्यबाट देखिने गरी लाभ लिन नसकिरहेको परिवेशमा सूचना प्रविधि दशक पनि त्यस्तै हुने त होइन भनेर चिन्ता प्रकट गरे  ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आईआईडीएसका परामर्शदाता डा. अमृता शर्माले डिजिटलाइजेसन म्याजिक नभएकाले राजनीतिक प्रतिबद्धतासहित स्थिरता आवश्यक रहेको धारणा राखिन् ।

यो वर्ष प्रविधि दशकको प्रस्थान वर्षको रुपमा रहेको र डिजिटल नेपाल फ्रेमवर्क सही मार्गमा आउनुपर्ने बताइन् । उनले भनिन्, ‘आईटी दशकका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण आवश्यक छ र सरकार व्यवसाय प्रवर्धक र सम्वर्धकका रुपमा बस्नुपर्छ ।’

परराष्ट्र मन्त्रालयले टेक डिप्लोमेसी गर्नुपर्ने आवश्यक रहेको बताउँदै नेपालको प्रविधि उद्योगलाई विश्वभरी पुर्‍याउन दूतावासहरुले भूमिका खेल्नुपर्ने उनको धारणा छ ।

नेपालमा अहिले प्रतिवर्ष १० हजार आईटी जनशक्ति उत्पादन भइरहेको र एक खर्बको सेवा निर्यात भइरहेको जानकारी उनले दिइन् ।

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले सूचना प्रविधि दशकको घोषणा महत्वाकांक्षी लक्ष्य नभई आईटीमा भइरहेको प्रगतिको परिणाम भएको बताए । आईटीका एक्सपर्ट र उद्यमीसँग छलफल गरेर ल्याएको योजना भएकाले यो लक्ष्य प्राप्त गर्न सहज हुने उनले स्पष्ट पारे ।

लोटस होल्डिङसका प्रमुख कार्यकारी अधिकृत अजितविक्रम शाहले यो लक्ष्य हासिल गर्न १० वर्ष पनि नलाग्ने आकलन गरे । यो क्षेत्रमा सहजता भएमा लगानी गर्न निजी क्षेत्र तयार रहेको उनले स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघका लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका अध्यक्ष मनोज पौडेलले अहिले आईटी क्षेत्रको विकास १६.८९ प्रतिशत वृद्धि भइरहेको बताउँदै लक्ष्य हासिल गर्न ३६ प्रतिशत वृद्धि गरि रहनुपर्ने आवश्यक रहेको बताए ।

किम्बु टेकका प्रमुख कार्यकारी अधिकृत कार्भिका थापाले सूचना प्रविधि दशकलाई सफल पार्न गाउँगाउँमा जनचेतना जागृत गर्नुपर्ने र प्रत्येक विद्यालयमा कम्प्युटर राख्नेमात्र नभई चलाउन प्रोत्साहन दिनु आवश्यक रहेको बताइन् । उनले भूराजनीतिक स्थितिले गर्दा विदेशीको आकर्षणको केन्द्रको रुपमा नेपाल रहेको र छोरीलाई आईटीमा एस्पर्ट बनाई नेपालमा बसेर विदेशको काम गर्ने वातावरण आईटी दशकले बनाउने विश्वास व्यक्त गरिन् ।