• Menu

विदेशमा शिक्षा आर्जनका लागि १० महिनामै बाहिरियो १ खर्ब ४ अर्ब

नेपाल प्रफिट

२०८१ जेठ २८, २०:३८

विदेशमा शिक्षा आर्जनका लागि १० महिनामै बाहिरियो १ खर्ब ४ अर्ब

काठमाडौं । अध्ययनका लागि विदेश जानेले चालु आर्थिक वर्षको १० महिनामै १ खर्ब ४ अर्ब रुपैयाँभन्दा धेरैको विदेशी मुद्रा सटही गरेका छन् । गत वर्ष १२ महिनाको अवधिमा १ खर्ब ४२ लाख बाहिरिएकोमा यो वर्ष १० महिनामै त्यति नै रकम बाहिरिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोडले घाटामा थियो ।

सेवा खाताअन्तर्गत चालु आवको वैशाखसम्म भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भ्रमण आय ५१ अर्ब ३७ करोड थियो ।

शिक्षा क्षेत्रमा भएको खर्चमा उच्च वृद्धि हुँदा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३९.५ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्ययमात्रै १ खर्ब ४ अर्ब २५ करोड पुगेको छ ।

गत आवको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १२ अर्ब ५२ करोड थियो भने शिक्षातर्फको व्यय ७५ करोड १४ लाख रुपैयाँ थियो ।