• Menu

विदेशमा शिक्षा आर्जनका लागि बाहिरियो ४ खर्ब ७३ अर्ब, अध्ययनका लागि विदेश रहर कि बाध्यता ?

नेपाल प्रफिट

२०८० फागुन २८, २२:३४

विदेशमा शिक्षा आर्जनका लागि बाहिरियो ४ खर्ब ७३ अर्ब, अध्ययनका लागि विदेश रहर कि बाध्यता ?

काठमाडौं । स्वदेशमा उच्च शिक्षा अध्ययनपछि पनि रोजगारीका अवसर नपाउँदा पढ्ने नाममा विदेश जानेको संख्या बर्सेनि बढ्दो छ । अध्ययनका लागि विदेश जाने भिसा पाउन तुलनात्मक रुपमा सहज हुने भएकाले नेपाल छाड्न चाहनेहरुले यो विधि अपनाएका हुन् ।

युरोपेली र अमेरिकी देशहरुमा मुख्यतः नेपालबाट अध्ययनका लागि जानेहरुको संख्या बढेर गएको छ । स्वदेशमा एकातिर रोजगारीको अवसर कम भएको र अर्कातिर चरम निराशा फैलिएका कारण खासगरी प्लस टु सक्नासाथ युवाहरु देश छाड्न हतारिने गरेका छन् ।

विदेश उच्च शिक्षा आर्जनका लागि भन्दा पनि कमाउन जाने र उतै बस्ने प्रवृत्ति केही वर्षयता बढ्दै गएको छ । गत वर्षमात्र ७३ हजार नेपाली युरोप र अमेरिकाका विभिन्न देशमा स्थायी रुपमा बसाइँ सरेका छन् । तीमध्ये अधिकांश विद्यार्थी भिसामा जानेहरु हुने गरेका छन् ।

अहिले नेपालमा जुनसुकै खालका उच्च शिक्षा हासिल गर्छु भन्नेहरुका लागि पनि कलेज छन् । तर, नेपाली युवा प्लस टु पास गर्नासाथ विदेश जाने लहड नै चलेको छ । उनीहरु पढ्नका लागि भन्दा पनि आयआर्जन र सुरक्षित भविष्यको खोजीमा विदेश जाने गरेको पाइएको छ ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार २०७९ सालसम्ममा करिब ५ लाख युवाले विदेश जान आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । २०८० को पुससम्ममा मात्रै ८२ हजार ६७१ युवाले ‘नो अब्जेक्सन लेटर’ लिइसकेका छन् । नेपाली विद्यार्र्थी होटल व्यवस्थापन, आईटी, नर्सिङ, इन्जिनियरिङ, मेडिसिन, व्यवस्थापनलगायत अध्ययन गर्न अस्ट्रेलिया, अमेरिका, जापानलगायतका देश जाने गरेका छन् ।

अध्ययनका लागि जाने युवाले १२ वर्षको अवधिमा ४ खर्ब ७२ अर्ब रुपैयाँ विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार युवा बिदेसिने क्रम बढेसँगै रकम बाहिरिने क्रम पनि उच्च बनेर गएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा मात्रै ६६ अर्ब ६४ करोड रुपैयाँ अध्ययनका लागि युवा जाँदा बाहिरिएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा निकै धेरै हो । गत वर्षको सोही अवधिमा ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको थियो ।

गत वर्षभरमा १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै २०७८/७९ मा ६७ अर्ब ७० करोड, २०७७/७८ मा २४ अर्ब ९६ करोड, २०७६/७७ मा २५ अर्ब ८१ करोड, २०७५/७६ मा ४६ अर्ब ३२ करोड र २०७४/७५ मा ३८ अर्ब ८ करोड रुपैयाँ अध्ययनका लागि बाहिरिएको छ ।

त्यसैगरी २०७३/७४ मा ३५ अर्ब २ करोड, २०७२/७३ मा २० अर्ब १३ करोड, २०७१/७२ मा १७ अर्ब ६ करोड, २०७०/७१ मा १५ अर्ब १२ करोड, २०६९/७० मा ९ अर्ब ५० करोड र २०६८/६९ मा ६ अर्ब ३७ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

नेपालबाट अध्ययनका नाममा अमेरिका, अस्ट्रेलिया र युरोपेली मुलुक बढी जाने गरेका छन् । यसरी जानेहरु उतै बस्ने र नेपालमा भएको सम्पत्तिसमेत बेचेर अवैध बाटोबाट पैसा लैजाने गरेका छन् । यसले युवासँगै पुँजी पलायनसमेत बढाएको छ ।