विचार
देशैभरका रोजगारदाता र श्रमिकलाई एकै ठाउँमा ल्याएर रोजगारीसँग जोड्ने उद्देश्यले यो मेला आयोजना गर्ने अभियान सञ्चालन गर्नुभएकोमा श्रममन्त्रीज्यू एवं मन्त्रालय परिवारलाई बधाई दिन चाहन्छु । र, सातै प्रदेशमा सफलतापूर्वक मेला सम्पन्न हुने विश्वाससमेत लिएको छु । यस मेलाको सहआयोजकको रुपमा नेपाल उद्योग परिसंघसहित अन्य निजी क्षेत्रका संस्थाहरुलाई समेत सहभागी गराउनुभएकोमा धन्यवाद पनि व्यक्त गर्दछु ।
नेपाल उद्योग परिसंघले उत्पादनमूलक तथा सेवामूलक उद्योगहरुको छाता संगठनको रुपमा विगत २० वर्षदेखि मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रवर्धन र रोजगारी सिर्जना गर्दै देशको आर्थिक, सामाजिक विकासमा बलियो साझेदारको रुपमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।
परिसंघ नेपाल सरकारको एक प्रभावकारी एवं महत्वपूर्ण साझेदार बन्दै सोही अनुरुप आफ्ना गतिविधिहरु गर्दै आइरहेको छ । नेपाल सरकारले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह–आयोजकमा नेपाल उद्योग परिसंघले पनि समन्वय गरिरहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मेला आयोजनाका लागि परिसंघलाई संयोजक तोकिएको छ ।
हाम्रो अर्थतन्त्र जुन हिसाबले विस्तार हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । सरकारले औद्योगिक विकास, उत्पादन एवं उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा जोड दिँदै आएको छ । सरकारका बजेट, नीति तथा कार्यक्रम, योजनाहरुमा पनि यी विषयलाई प्राथमिकताका साथ राख्दै आएको देखिन्छ ।
तर, व्यावहारिक रुपमा कार्यान्वयन हुन नसक्दा हाम्रो समृद्धितर्फको यात्रामा ढिलाइ भइरहेको छ । देशमा औद्योगीकरण हुन नसक्दा रोजगारीका अवसर पर्याप्त हुन सकिरहेका छैनन् ।
हालकै अवस्थामा पनि देशभित्र रोजगारीका अवसर नभएका होइनन्, छन् तर उद्योगलाई आवश्यकताअनुसारका सीपयुक्त दक्ष जनशक्तिको अभाव छ । हाम्रो व्यवहारमुखीभन्दा पनि सैद्धान्तिकमुखी शिक्षा प्रणालीको कारणले यो ग्याप भइरहेको हो कि भन्ने हामीले महसुस गरेका छौं ।
उद्योगका कामदारको क्षमता विकास तथा अभिवृद्धि गरी थप रोजगारी सिर्जना गर्दै श्रम बजारमा रहेको श्रमको माग र पूर्तिको बेमेललाई न्यूनीकरण गर्दै उद्योगहरुको उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्ने आवश्यकता छ ।
यसका लागि श्रमाधान रोजगार मेलाले महत्वपूर्ण सन्देश दिने र सरकारलाई पनि आगामी दिनमा सोही दिशातर्फ अगाडि बढी प्रेरित गर्ने विश्वास लिएको छु । रोजगारीको अवसर सिर्जना गर्न सीपयुक्त जनशक्ति निर्माण गर्नुपर्ने देखिन्छ । यसका लागि परिसंघले काम पनि गरिरहेको छ ।
परिसंघले आफ्ना आबद्ध सदस्य उद्योगहरुसँगको सहकार्य तथा समन्वयमा सीप तथा रोजगारीसम्बन्धी विभिन्न कार्यक्रमको व्यवस्थापन गर्दै आइरहेको छ । हाम्रा सदस्य उद्योगहरुमा ‘एपरेन्टिसिप’ कार्यक्रम गरी २ हजार ३७५ जनालाई रोजगारीको अवसर सिर्जना गरेका छौं ।
यसैगरी नेपाल सरकारको कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम ‘एपरेन्टिसिप’मा पनि परिसंघमार्फत १ हजार ६६५ जनालाई तालिम दिई रोजगार उपलब्ध गर्ने गरी उद्योग मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र र ६ वटा उद्योगसँग परिसंघले त्रिपक्षीय सम्झौता गरेका छौं । यस्तै ‘डुअल भीईटी एपरेन्टिसिप’ कार्यान्वयनका लागि ‘आईएएसएसयूआरई’सँग सहकार्य गरेका छौं ।
सीएनआईको नेतृत्वमा सीटीईभीटी, एनएसटीबीको समन्वय तथा सहकार्यमा उद्योग व्यवसाय क्षेत्रमा आवश्यक जनशक्तिको दक्षता विश्लेषण गरी सो अनुरूपको सीप प्रमाणीकरण, पाठ्यक्रम निर्माण तथा जनशक्ति उत्पादन गर्न नेपाल भोकेसनल क्वालिफिकेसन्स सिस्टम प्रोजेक्ट (एनभीक्यू–पी) को प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेका छौं ।
नेपाली श्रम बजारमा सीप विकास, प्राविधिक एवं दक्ष जनशक्ति आपूर्तिको असन्तुलन कम गर्न स्किल ट्रेनिङ सेन्टर बनाउन आवश्यक छ । नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आवश्यक सीप तथा उद्यमशीलतासँग सम्बन्धित तालिमको प्रबन्ध समन्वयात्मक तरिकाबाट नहुनु अहिलेको प्रमुख समस्या हो ।
त्यसैले परिसंघले श्रम बजारको मागअनुसारको दक्षता भएका श्रमको पूर्तिको लागि आवश्यक तालिमको व्यवस्था गर्न स्किल एन्ड नलेज हब स्थापना गर्न खोजिरहेको छ ।
आन्तरिक श्रम बजारका लागि मात्रै होइन, वैदेशिक रोजगारीमा पठाउँदासमेत दक्ष कामदार पठाउन सक्दा त्यसको फाइदा श्रमिक वर्गसहित देशलाई समेत हुन्छ । त्यसैले स्किल ट्रेनिङ सेन्टरलाई उच्च प्राथमिकतामा राख्न आवश्यक छ ।
देशको पछिल्लो आर्थिक अवस्थाका कारण उद्योग व्यवसाय नराम्रोसँग प्रभावित भइरहेका छन् । निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन । उत्पादनमा आएको उच्च गिरावटको असर रोजगारीमा समेत परेको छ । अर्को देशभित्र रोजगारीलाई सम्मानजनक र मर्यादित बनाउनसमेत आवश्यक छ । रोजगारलाई सुरक्षित, सम्मानजनक र मर्यादित बनाउन परिसंघले सरोकारवालाहरुसँग सहकार्य गर्दै आइरहेको छ ।
हामीले रोजगारी दिने र चाहनेबीच भइरहेको ग्यापका विषयमा सरकारलाई भन्दै पनि आएका थियौं । सातै प्रदेशमा आयोजना गरिएको रोजगार मेलाले आन्तरिक श्रम बजारमा रहेको अवसर र चुनौतीको पहिचान गर्ने विश्वास लिएको छु ।
यो मेला अवधिभर कति उद्योगले कति जनालाई रोजगारी दियो भन्ने विषयभन्दा पनि रोजगार खोज्नेहरू, रोजगारदाताहरू र सरोकारवालाहरूबीच सीप विकास र रोजगारीको अनुकूल वातावरण सिर्जना गर्नेतर्फ महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ ।
रोजगार मेलामा सहभागी तपाईंहरु एवं तपाईंहरुमार्फत के कुरा स्पष्टसँग राख्न चाहन्छु भने तपाईंसँग सीप छ भने तपाईंले रोजगारी पाउन सक्नुहुन्छ । तपाईं आफैँ उद्यमी पनि बन्न सक्नुहुन्छ । त्यसैले सीपलाई उच्च प्राथमिकतामा राख्नुहुन अनुरोध गर्दछु ।
छोटो अवधिको तयारीका साथ आयोजना भइरहेको रोजगार मेलाले आगामी वर्ष पनि निरन्तरता पाउने र अलि बढी तयारीका साथ हुने विश्वास लिएको छु । मलाई लाग्छ सरकारको यो सुरुवात हो ।
यो सुरुवातमा परिसंघसहित अन्य निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु पनि आबद्ध भएका छौं । यस पटकको कमीकमजोरीलाई सुधार गर्दै नेपाली रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित एवं उपयोगीमुखी बनाउँदै लगिनेछ । यसका लागि परिसंघ सरकारको नजिक रहेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।
अन्त्यमा, यो महत्वपूर्ण अभियान एवं प्रयासमा परिसंघलाई समेत आबद्ध गर्नुभएकोमा श्रम मन्त्रालय, माननीय मन्त्रीज्यूसहित सबैलाई धन्यवाद व्यक्त गर्दछ । सातै प्रदेशमा आयोजना गरिएको यो मेलाको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्दछु ।
(नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालबाट श्रमाधान रोजगार मेला मधेस प्रदेशको समुद्घाटन समारोहमा व्यक्त मन्तव्य)
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal