• Menu

सञ्चार उद्यमी सिरोहियाको पक्राउप्रति निजी क्षेत्रका छाता संगठनको विरोध

नेपाल प्रफिट

२०८१ जेठ १०, २१:३८

सञ्चार उद्यमी सिरोहियाको पक्राउप्रति निजी क्षेत्रका छाता संगठनको विरोध

काठमाडौं । सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएका छन् ।

तीनै संगठनले संयुक्त विज्ञप्ति जारी गरी कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा स्पष्ट रहेको तर कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने तथा उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्पm ध्यानाकर्षण गराएका छन् ।

विगतदेखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने माग गर्दै आएका छन् । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न आग्रह गरिएको छ ।

मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि नउठिसकेको र अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्तालाई आग्रह गरिएको उनीहरुको ठहर छ ।

‘यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुँदैन भन्ने हाम्रो सुझाव रहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन ।’

अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ र उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘देशभित्र व्यावसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्नेतर्फ हामी सबैको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं,’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।