काठमाडौं । जापानी खाना र पेय पदार्थका पारखीलाई लक्षित गरी काठमाडौंमा तीन दिने ‘उत्सव’ हुने भएको छ । र्याडिसन होटल परिसरमा होक्काइदो रेस्टुरेन्टले वैशाख २८, २९ र ३० गते (मे १०, ११ र १२) मा उत्सव गर्न लागेको हो ।
तीन दिन साँझ ६:३० देखि ९:३० सम्म सञ्चालन हुने जापानी खाना, पेय र संगीतको उत्सवमा काठमाडौंमा रहेका पारखीले फरक स्वाद लिन सक्ने सञ्चालक अर्जुन अधिकारीले बताए । आयोजकले उत्सवलाई नेपालमा ‘इजाकायाको उत्कृष्ट अनुभव अवसर’ भनेको छ ।
‘इजाकाया’ जापानको परम्परागत र लोकप्रिय अभ्यास हो, जहाँ दिनभरको कामपछि मानिस पेय र खानाका लागि जम्मा हुन्छन् । सञ्चालक अधिकारीले जापानको त्यही लोकप्रिय अभ्यास नेपालीबीच पुर्याउन र जापानी खानाको स्वाद, सुगन्ध र सजावटको आनन्द दिन उत्सव आयोजना गरिएको जानकारी दिए ।
उत्सवमा खानाको परिकारअनुसार प्रतिव्यक्ति ४४ सय, २७ सय र १७ सय रुपैयाँका गरी तीन प्रकारका मेनु राखिएको छ ।