काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नियामक र निगरानी गर्ने संस्था धेरै हुँदा निजी क्षेत्र समस्यामा परेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा उनले भने, ‘नियामक र निगरानी गर्ने संस्था धेरै भए, यसले निजी क्षेत्रलाई समस्यामा पारेको छ, धेरै वटा निकायबाट नियमन अनुगमन हुँदा समस्या छ ।’
बैंक तथा वित्तीय संस्थाले धेरै पैसा कमाए भन्ने भाष्य बनेको छ तर अहिले धेरै बैंक तथा वित्तीय संस्था समस्यामा रहेको अध्यक्ष ढकालले बताए । ‘बजेटमा उनीहरूका लागि पनि केही विशेष व्यवस्था आवश्यक छ,’ उनले भने ।
ढकालले बजार माग र आपूर्ति दुवै घटेका कारण समग्र अर्थतन्त्र समस्यामा परेको बताए । सरकारले अध्यादेशमार्फत छोटो समयमा कानुन परिवर्तन गरेर लगानी वातावरण बनेको सन्देश दिएको उनको बुझाइ छ ।
आगामी आवको बजेटले निजी क्षेत्रका माग र सुझावलाई प्राथमिकतामा राख्नुपर्ने पनि उनले स्मरण गराए । सरकारको बजेट र मौद्रिक नीतिबीच तालमेल र एकरुपता हुनुपर्ने सुझाव उनले दिए । आगामी आवको बजेटबाट लगानी दशक घोषणा गरिनुपर्ने र ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने उद्योगलाई सहुलियत दिनुपर्ने उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिमा लगाएको करले गलत सन्देश गएको उनले बताए । सरकारको पुँजीगत खर्च कम भएको र खर्च भएको ठाउँमा पनि निर्माण व्यवसायीले भुक्तानी नपाउँदा समस्या रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा पनि सुधारात्मक र रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउने बताए ।