• Menu

रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो, सबै खालको सहयोग गर्न सरकार तयार छ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ वैशाख १९, बुधबार ०९:२२

रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो, सबै खालको सहयोग गर्न सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ्स र एक्स्पर्ट ग्रुप अस्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गरेका छन् ।

रारा होल्डिङ्सका प्रतिनिधिसँगको बुधबार बिहानको कुराकानीमा प्रधानमन्त्रीले राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्वपूर्ण रहेको बताए । पर्यटन प्रवर्धनका लागि नेपाल सरकारको सहयोग रहने प्रतिबद्धता पनि उनले जनाए ।

‘नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्वपूर्ण क्षेत्र हो, त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्छ भन्नेमा म स्पष्ट छु,’ उनले भने, ‘तपाईंहरू निजी क्षेत्र आफैंले यसका निम्ति पहल लिनुभएकोमा म खुसी छु, यसले रारामा आन्तरिक र बाह्य पर्यटनमा महत्वपूर्ण योगदान पुग्नेछ ।’’

प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वाससमेत दिलाए । ‘रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ, मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत प्रसारण, खानेपानीलगायतका क्षेत्रमा सरकारको तर्फबाट सहयोग हुनेछ,’ उनले भने, ‘यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजस्वसमेत अभिवृद्धि हुनेछ ।’

भेटमा रारा होल्डिङ्स प्रालिका अभिषेकविक्रम शाह र एक्स्पर्ट ग्रुप अस्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमै काम सम्पन्न गरिने बताए ।

तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ्स र एक्स्पर्ट ग्रुपबीच १ अर्ब १० करोडको लागतमा रारामा अत्याधुनिक रिसोर्ट निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्