• Menu

रारामा अस्ट्रेलियन लगानीमा लक्जरी रिसोर्ट, लागत १ अर्ब १० करोड, १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

नेपाल प्रफिट

२०८१ वैशाख १७, सोमबार १६:३८

रारामा अस्ट्रेलियन लगानीमा लक्जरी रिसोर्ट, लागत १ अर्ब १० करोड, १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्स्पर्ट ग्रुपले लगानी गर्ने भएको हो ।

काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एक्स्पर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स प्रालिका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ ।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीय स्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङ्स प्रालिका शाहले बताए ।

समुद्र सतहदेखि ३ हजार ७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरुको दृश्यावलोकन समेत गर्न सकिनेछ ।

‘यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्,’ उनले भने, ‘यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौँ र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’

उनले आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुने बताए । एक्सपर्ट ग्रुपको अस्ट्रेलिया र नेपालमा शिक्षा तथा जलविद्युत क्षेत्रमा लगानी छ । यस सम्झौतासँगै एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्