काठमाडौं । माघदेखि ठप्प रहेको कर्जा प्रवाह वैशाख लागेपछि बढ्न थालेको छ । चालु आर्थिक वर्षको असारदेखि माघसम्म २ खर्ब १० अर्ब हाराहारी कर्जा प्रवाह भएकोमा माघदेखि चैतसम्म ठप्प भएको थियो । तर, वैशाख लागेपछि बढ्न थालेको हो ।
चैत अन्तिम सातादेखि नै कर्जाको माग केही बढेको र वैशाख त्यो क्रम अझ बढेको बैंकरहरुले बताएका छन् । कर्जाको माग ठप्प हुँदा बैंकरहरुमा पनि एक प्रकारको निराशा देखिएको थियो । तथापि, खराब कर्जाको व्यवस्थापनका लागि अधिकांश बैंक चैतमा असुलीमा केन्द्रित भएका थिए ।
वैशाख २ सम्ममा कुल कर्जा प्रवाह २ खर्ब ३५ अर्ब नाघेको छ । २०८० असार ३१ गते ४८ खर्ब ७९ अर्ब रहेको कुल कर्जा प्रवाह माघदेखि चैतसम्म ५० खर्ब ८९ अर्ब हाराहारीमा रह्यो ।
वैशाख २ गते भने ५१ खर्ब १२ अर्ब रुपैयाँ नाघेको छ । वैशाख १ गते अझ बढी ५१ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी थियो ।
निक्षेप वृद्धिदर भने अलि बढी छ । असार ३१ गते ५७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको कुल निक्षेप वैशाख २ गते ३ खर्ब ७६ अर्ब रुपैयाँले बढेर ६१ खर्ब ४३ अर्ब पुगेको छ ।
कर्जाको औसत वृद्धि भने राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा निकै कम छ । राष्ट्र बैंकले चालु आवमा ११.५ प्रतिशतले कर्जा वृद्धि हुने लक्ष्य लिएको छ । तर, अहिलेसम्म पनि कर्जाको वृद्धिदर ४ प्रतिशत हाराहारीमात्र छ ।