• Menu

ब्याजदर २४ महिनाअघिको अवस्थामा, आधार दर झन् कम तर कर्जाको माग ठप्प

नेपाल प्रफिट

२०८० चैत २३, शुक्रबार १५:३८

ब्याजदर २४ महिनाअघिको अवस्थामा, आधार दर झन् कम तर कर्जाको माग ठप्प

काठमाडौं । वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर २४ महिनाअघिको अवस्थामा आइपुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार औसत ब्याजदर २४ महिनाअघिको अवस्थामा आइपुगेको हो ।

कोभिड १९ को समयमा २०७८ असारमा ८.४३ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर चैतमा १०.७८ प्रतिशत पुगेको थियो । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० फागुनमा कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत नै छ ।

कोभिड १९ का बेला अधिक तरलता हुँदा २०७८ असारमा ८.४३ प्रतिशत रहेको ब्याजदर लगातार बढेर २०७९ फागुन र चैतमा १३.०३ प्रतिशतसम्म पुगेको थियो । त्यसबेला कतिपय बैंकले कर्जा निक्षेप अनुपातभन्दा पनि धेरै कर्जा प्रवाह गरेका थिए ।

अहिले कर्जा निक्षेप अनुपात ८० प्रतिशतभन्दा तल छ भने माघदेखि कर्जाको मागसमेत ठप्प छ ।

२०७८ चैतको अवस्थासँग तुलना गर्दा अहिले आधार दर कम छ । त्यसबेला ब्याजदर १०.७८ प्रतिशत हुँदा आधार दर ९.१७ प्रतिशत थियो भने अहिले त्योभन्दा कम ८.७७ प्रतिशत छ ।

भारित औसत निक्षेप दर त्यसबेला ७.११ प्रतिशत थियो भने अहिले ६.७४ प्रतिशत छ । त्यस्तै त्यसबेला अन्तर बैंक ब्याजदर ६.९९ प्रतिशत थियो भने अहिले २.९२ प्रतिशत छ ।

तर, त्यसबेला कर्जाको माग उच्च थियो । अहिले भने कर्जाको माग नै ठप्प छ । कर्जाको माग हुन नसक्ने स्थिति आउनु अर्थतन्त्रका लागि निकै नै खराब संकेत भएको अर्थविदहरु बताउँछन् ।

अर्थविद डा. डिल्लीराज खनालले कर्जाको माग ठप्प हुनुले राम्रो संकेत नगर्ने बताए । सरकार र राजनीतिक दललाई सत्ता र राजनीतिबाहेक कुनै कुराको मतलव नहुँदा अवस्था थप विकराल बन्दै गएको उनको टिप्पणी छ ।

नेपाल बैंकर संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी ब्याजदर निकै कम हुदा पनि कर्जाको माग नभएको बताउँछन् । ‘सरकारले आन्तरिक अर्थतन्त्र चलायमान बनाउन र कर्जाको माग बढाउन विशेष योजना नै ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘बैंकहरु पर्याप्त तरलता लिएर बसेका छन्, लगानी गर्न आतुर छन् ।’

एक वर्षअघिको तुलनामा कर्जाको भारित औसत ब्याजदर २.२५ प्रतिशत विन्दुले घटेको छ । २०७९ फागुन र चैतमा अहिलेसम्मकै उच्च १३.०३ प्रतिशत औसत ब्याजदर २०८० फागुनमा १०.७८ छ ।

त्यस्तै आधार दर १०.६४ प्रतिशतबाट १.९५ प्रतिशत विन्दुले घटेर ८.७७ प्रतिशतमा झरेको छ भने निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशतबाट १.६७ प्रतिशत विन्दुले घटेर ६.७४ प्रतिशतमा झरेको छ । यसले निक्षेपको ब्याजदर र आधार दरभन्दा बढी दरले कर्जाको ब्याजदर घटेको देखाउँछ ।