• Menu

आठ महिनामा २ अर्ब ४७ करोडको सिमेन्ट तथा क्लिंकर निर्यात, कुन महिनामा कति ?

नेपाल प्रफिट

२०८० चैत २७, ०९:५२

आठ महिनामा २ अर्ब ४७ करोडको सिमेन्ट तथा क्लिंकर निर्यात, कुन महिनामा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा २ अर्ब ४७ करोड रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्ममा २ अर्ब ४७ करोड १७ लाख ४१ हजार रुपैयाँबराबरको २२ लाख ९६ हजार ९७३ टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको हो ।

समीक्षा अवधिमा १ अर्ब १८ करोड ८७ लाख २८ हजार रुपैयाँबराबरको ३ लाख ९२ जहार ७४५ टन क्लिंकर र १ अर्ब २८ करोड ३० लाख १४ हजार रुपैयाँबराबरको १९ लाख ४ हजार २२८ टन सिमेन्ट निर्यात भएको छ ।

भन्सारको तथ्यांकअनुसार असोजमा सबैभन्दा धेरै साढे ४३ करोड र भदौमा सबैभन्दा कम सवा १८ करोडको सिमेन्ट निकासी भएको छ । साउनमा २३ करोड ४९ लाख, भदौमा १८ करोड ३४ लाख, असोजमा ४३ करोड ४५ लाख, कात्तिकमा २७ करोड ७६ लाख, मंसिरमा ३६ करोड १५ लाख, पुसमा २७ करोड ९ लाख, माघमा २९ करोड ७५ लाख र फागुनमा ४१ करोड ८ लाख रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निकासी भएको छ ।

वैदेशिक व्यापारमा हरेक वस्तु तथा सेवाले निराशाजनक चित्र प्रस्तुत गरिरहेका बेला सिमेन्टले आशाजनक तथ्यांक प्रस्तुत गरेको हो । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत निर्यातमा प्रोत्साहन दिने नीति लिएपछि वातावरण बनेको सिमेन्ट निर्यात गर्न व्यवसायी इच्छुक बनेका हुन् ।

सरकारबाट प्रोत्साहन पाएपछि गत वर्षभरमा तीन सिमेन्ट उद्योगले करिब ७८ करोड रुपैयाँको सिमेन्ट भारत निर्यात गरेका थिए । गत वर्ष आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको कम्पनी अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्डको सिमेन्ट र बालाजी सिमेन्ट इन्डस्ट्रिजबाट उत्पादित बहुबली तथा सृष्टि ब्रान्डको सिमेन्ट ७७ करोड ९३ लाख रुपैयाँबराबरको निर्यात भएको हो ।

चालु आवको साउन १५ देखि सर्वोत्तम सिमेन्ट थपियो । सर्वोत्तमले साउनमा भारतीय गुणस्तर चिह्न पाएको हो । त्यसपछि सिमेन्ट निर्यात बढेर गएको छ । अहिले मुख्यगरी सर्वोत्तम, अर्घाखाँची र तानसेन ब्रान्डका सिमेन्ट भारत निकासी भइरहेका छन् । ठूलो योजनासहित सर्वोत्तम थपिएपछि ८ महिनामै साढे २ अर्बको सिमेन्ट र क्लिंकर भारतीय बजारमा पुगेको छ ।

नेपालबाट खासगरी भारतका उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा सिमेन्ट तथा क्लिंकर निर्यात भइरहेको छ । हालसम्म भारतका राजस्थान र मध्य प्रदेशबाट ती प्रदेशमा सिमेन्ट आयात भइरहेकोमा नेपाल सरकारले अनुदानको व्यवस्था गरेपछि नेपाली सिमेन्टलाई भारतीय सिमेन्ट कम्पनीसँग प्रतिस्पर्धा गर्न सहज भएको हो ।