काठमाडौं । वैदेशिक व्यापारमा हरेक वस्तु तथा सेवाले निराशाजनक चित्र देखाइरहेका बेला सिमेन्टले भने आशाजनक तथ्यांक प्रस्तुत गरेको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत निर्यातमा प्रोत्साहन दिने नीति लिएपछि वातावरण बनेको सिमेन्ट निर्यातले ठूलो आशाको संकेत देखाएको हो ।
सरकारबाट प्रोत्साहन पाएपछि गत वर्षभरमा तीन सिमेन्ट उद्योगले करिब ७८ करोड रुपैयाँको सिमेन्ट भारत निर्यात गरेका थिए । गत वर्ष आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको कम्पनी अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्डको सिमेन्ट र बालाजी सिमेन्ट इन्डस्ट्रिजबाट उत्पादित बहुबली तथा श्रृष्टि ब्रान्डको सिमेन्ट ७७ करोड ९३ लाख रुपैयाँबराबरको निर्यात भएको हो ।
चालु आवको साउन १५ मा मात्रै सर्वोत्तम सिमेन्टले भारतीय गुणस्तर चिह्न पाएको थियो । अहिले मुख्यगरी सर्वोत्तम, अर्घाखाँची र तानसेन ब्रान्डका सिमेन्ट भारत निकासी भइरहेका छन् । ठूलो योजनासहित सर्वोत्तम थपिएपछि सात महिनामै २ अर्बको सिमेन्ट र क्लिंकर भारतीय बजारमा पुगेको छ ।
समीक्षा अवधिमा ९८ करोड ३७ लाख रुपैयाँबराबरको ३ लाख ५९ हजार टन क्लिंकर र १ अर्ब ७ करोड ७० लाख रुपैयाँबराबरको १७ लाख ८८ हजार टन सिमेन्ट निकासी भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । साउनदेखि पुससम्ममा २ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको सिमेन्ट तथा क्लिंकर निकासी भएको छ ।
सिमेन्ट निर्यातका लागि ठूलो योजनासहित आएको सर्वोत्तम सिमेन्टले मात्रै यो वर्ष करिब अढाई अर्बको निर्यात गर्ने लक्ष्य लिएको जनाएको छ । त्यस हिसाबले चालु आवमा सिमेन्ट निर्यातले ठूलो हिस्सा लिने आकलन भइरहेको छ ।
सौरभ ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु न्यौपानेले यो वर्ष २ अर्ब ४० करोड रुपैयाँको निर्यात गर्ने लक्ष्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बजारले नेपाली सिमेन्ट रुचाएको उनको विश्लेषण छ । ‘भारतीय बजार निकै ठूलो भएकाले नेपालले सिमेन्ट निर्यातमा धेरै गर्न सक्छ,’ उनले भने, ‘दुई-तीन वर्षको अवधिमै ५० अर्बभन्दा बढीको सिमेन्ट निर्यात हुने हाम्रो विश्वास छ ।’
नेपालबाट खासगरी भारतका उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा सिमेन्ट तथा क्लिंकर निर्यात भइरहेको उनले जानकारी दिए । हालसम्म भारतका राजस्थान र मध्य प्रदेशबाट ती प्रदेशमा सिमेन्ट आयात भइरहेकोमा नेपाल सरकारले अनुदानको व्यवस्था गरेपछि भारतीय सिमेन्ट कम्पनीसँग प्रतिस्पर्धा गर्न सहज भएको न्यौपानेले बताए ।
निर्यात सुरुवात यसरी
नेपालमा ठूला उद्योग स्थापना गरेर सिमेन्ट उत्पादन हुन थालेको धेरै भएको छैन । तर, नेपाली बजारका साथै भारतीय बजारलाई समेत लक्षित गरेर सिमेन्ट उद्योग स्थापना गरेका उद्योगीलाई सरकारले लिएको निर्यात प्रोत्साहन नीतिले ठूलो लाभ मिलेको छ ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत निर्यातमा प्रोत्साहन दिने नीति लिएपछि सिमेन्ट निर्यातले गति लिएको हो । नेपालमै क्लिंकर उत्पादन हुन थालेपछि लागत केही कम परिरहेको सन्दर्भमा सरकारले अनुदान दिएपछि वातावरण फरक भयो ।
अनुदान पाउने निश्चित भएपछि तानसेनले २०७९ असारमै निर्यात थालेको थियो भने साउनदेखि अर्घाखाँचीले पनि निर्यात थालेको हो । एक वर्षपछि २०८० साउनदेखि सर्वोत्तम थपिएको छ ।
अहिले देशभर ६५ वटा सिमेन्ट उद्योग छन् । सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा र बैंकहरुले कर्जा प्रवाह गर्न नसक्दा आन्तरिक खपत अत्यन्तै न्यून छ । अधिकांश उद्योग माग कम भएकै कारण भारी मात्रामा उत्पादन कटौती गरेर चलिरहेका छन् । तीमध्ये कतिपय उद्योग भारतीय गुणस्तर चिह्न लिने प्रक्रियामा छन् । निर्यात गर्न सम्बन्धित देशबाट गुणस्तर चिह्न लिनुपर्ने हुन्छ ।
सरकारले २०७९ कात्तिकमा निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ मार्फत सिमेन्टमा ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । त्यस्तै गत आर्थिक वर्षको बजेटमार्फत वार्षिक १० करोडभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।