काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निर्माण व्यवसायीको पैसा भुक्तानी नगर्दा आर्थिक चक्र नै खल्बलिएको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २५औं वार्षिकोत्सवका अवसरमा हेटौंडामा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, ‘हाल सरकारबाट व्यवसायीलाई निर्माण कार्यको अर्बौं रकम भुक्तानी भएको छैन, जसले गर्दा सप्लाई चेन बिग्रिएको छ ।’
सरकारले भुक्तानी नदिँदा व्यवसायीले बैंकको किस्ता तिर्न, श्रमिकको पारिश्रमिक दिन र कर तिर्न नसकेको उनले बताए । ‘यसले गर्दा व्यवसायी आर्थिक रुपमा समस्याग्रस्त छन्,’ अध्यक्ष ढकालले भने ।
सरकारले निर्माण व्यवसायीको रकम तत्काल भुक्तान गर्न उनले माग गरे । अध्यक्ष ढकालले देशको विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले सरकारले भुक्तानीमा ढिलाइ गर्न नहुने दोहोर्याए ।
‘सरकारले भुक्तानीमा ढिलाइ गरेकै कारण परियोजनाहरुमा ढिलाइ भइरहेको छ,’ उनले भने । यद्यपि, केही सकारात्मक संकेत देखिएको र आउने दिनमा स्थितिमा सुधार हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा ढकालले निर्माण व्यवसायीलाई बैंकबाट सजिलैसँग ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनुपर्नेमा पनि जोड दिए । नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासमा अटल प्रतिबद्धताका लागि पनि धन्यवाद दिए ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीले गुणस्तरीय काम नगर्दा राज्यलाई आर्थिक भार थपिएको बताएका थिए ।