काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन प्रकरणमा संलग्न रहेको आरोपमा कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सोमबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिरहेकोमा अहिले पक्राउ पर्ने राम्रो भएको बताए । यद्यपि, यसअघि कांग्रेसको सहयोगमा प्रचण्डले नै सरकारको नेतृत्व गरिरहेका थिए ।
एमालेले आयोग बनाउन उठाएको प्रश्न सही सावित भएको थापाको भनाइ छ । ‘केही समयअगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरूलाई लुकाइएको छ भनेर जोडदारसँग उठायो । प्रहरीको नियमित छानबिनबाट अनुसन्धान सही ठाउँमा पुग्न सक्दैन भनेर,’ उनले भने, ‘शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही सावित भयो ।’
‘आयोगले प्रतिवेदन बुझाएको छ, हामीले भर्खरै समाचार सुन्यौँ- कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ, सरकारलाई धन्यवाद छ, आयोगले किटान गरेको मान्छे छुट्नु हुन्न हाम्रो साथ छ,’ उनले अगाडि भने ।
तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने भूमिकामा अहिले कांग्रेस रहेको उनले बताए । ‘तर यसले एमालेले प्रतिपक्षको ठाउँमा यो कुरा नउठाएको भए आयोग नबन्ने रहेछ, आयोग नबनेको भए सुन काण्ड फासफुस हुने रहेछ,’ उनले भने ।