• Menu

बाँसबारी छालाजुत्ता प्रकरणमा सीआईबीले सांसद विनोद चौधरीसँग बयान लिने

नेपाल प्रफिट

२०८० चैत ४, ११:३०

बाँसबारी छालाजुत्ता प्रकरणमा सीआईबीले सांसद विनोद चौधरीसँग बयान लिने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीको वयान लिने भएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारमातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान निर्देशन दिएपछि सीआईबीले वयान लिन लागेको हो ।

विनोद चौधरी सहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन सीआईबीले बयान लिने भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

गृह मन्त्रालयमा गृहमन्त्री लामिछाने, सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग प्रमुख एआईजी श्याम ज्ञवालीसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् ।

सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि माघ १८ गते अरुणकुमार चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो ।