काठमाडौं । वाणिज्य बैंकहरुले चैतका लागि फेरि निक्षेपको ब्याजदर घटाएका छन् । कर्जा प्रवाह अपेक्षित हुन नसकेर पैसा थुप्रिएपछि बैंकहरुले फेरि निक्षेपको ब्याजदर घटाएका हुन् । नेपाल बैंकर एसोसिएसनका अनुसार अहिले वाणिज्य बैंकमा साढे ४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम छ ।
अर्थतन्त्र चलायनमान हुन नसक्दाको असर बैंकहरुको कर्जा प्रवाहमा परेको हो । कर्जा प्रवाह सुस्ताएर तरलतायोग्य रकम बढेपछि बैंकहरुले लगातार ब्याज घटाएका छन् । ब्याज घटाए पनि कर्जाको माग भने खासै बढ्न सकेको छैन ।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको सूचनाअनुसार चैतका लागि व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ७.२४६ प्रतिशतमा झरेको छ । फागुनमा भन्दा यो कम हो । फागुनमा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ७.७६ प्रतिशत थियो ।
दुई महिनामा औसत ब्याजदर ०.९१४ प्रतिशत विन्दुले घटिसकेको छ । माघमा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ८.१६ प्रतिशत थियो ।
बुधबार २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर फागुनको तुलनामा ०.५१४ प्रतिशत विन्दुले घटेको छ ।
कर्जा प्रवाह खासै बढ्न नसकेपछि बैंकहरुले लगातार ब्याजदर घटाएका हुन् । साउन १ देखि फागुन २६ सम्ममा जम्मा २ खर्ब १० अर्ब रुपैयाँबराबर कर्जा प्रवाह भएको छ । २०८० असार ३१ गते ४८ खर्ब ७९ अर्ब रहेको बैंक वित्तीय संस्थाको कर्जा प्रवाह फागुन २६ सम्ममा बढेर ५० खर्ब ८९ अर्ब रुपैयाँ नाघेको छ । माघ तेस्रो सातादेखि फागुन २६ सम्ममा जम्मा २ अर्बमात्र कर्जा प्रवाह भएको छ ।
साउनदेखि फागुन २६ सम्ममा निक्षेप संकलन भने ४ खर्ब १६ अर्ब रुपैयाँले बढेको छ । २०८० असार मसान्तसम्म ५७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप फागुन २६ सम्ममा ६१ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । माघ तेस्रो सातादेखि फागुन २६ सम्ममा निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँ बढेको छ ।
चैतका लागि १७ वटा बैंकले ब्याज घटाएका छन् भने दुई वटाले स्थिर राखेका छन् । एनआईसी एसिया बैंकले भने ब्याज बढाएको छ । एनआईसी एसियाका सम्बन्धनमा चलेको गलत हल्लाका कारण छोटो अवधिमै करिब ४० अर्ब रुपैया निक्षेप बाहिरिएपछि बैंक निक्षेप संकलनको दबाबमा परेको हो । निक्षेप बढाउने बैंकले बैंकले ब्याज बढाएर आकर्षित गर्न खोजेको हो ।
ग्लोबल आईएमई र प्रभु बैंकले भने ब्याजदर स्थिर राखेका छन् । ग्लोबल आईएमईले ७.६ र प्रभुले ७.५ प्रतिशतमा ब्याजदर स्थिर राखेका हुन् । अन्य सबै बैंकले ब्याज घटाएका छन् ।
