काठमाडौं । अर्थतन्त्र चलायनमान हुन नसक्दाको असर बैंकहरुको कर्जा प्रवाहमा परेको छ । कर्जा प्रवाह सुस्ताएर तरलतायोग्य रकम बढेपछि बैंकहरुले लगातार ब्याज घटाउन थालेका छन् । ब्याज घटाए पनि कर्जाको माग भने खासै बढ्न सकेको छैन् ।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको सूचनाअनुसार फागुनका लागि व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ७.७६ प्रतिशतमा झरेको छ । माघमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ८.१६ प्रतिशत थियो ।
सोमबार २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ०.४ प्रतिशत विन्दुले घटेको छ ।
बैंकहरुले संस्थागत मुद्दति निक्षेपको ब्याज पनि घटाएका छन् । संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर ०.३८ प्रतिशत विन्दुले घटेर ६.१२ बाट ५.७५ प्रतिशतमा झरेको छ ।
कर्जा प्रवाह खासै बढ्न नसकेपछि बैंकहरुले ब्याजदर लगातार घटाइरहेका छन् । साउनदेखि माघ तेस्रो सातासम्ममा जम्मा २ खर्ब ८ अर्ब रुपैयाँबराबर कर्जा प्रवाह भएको छ । २०८० असार ३१ गते ४८ खर्ब ७९ अर्ब रहेको बैंक वित्तीय संस्थाको कर्जा प्रवाह माघ तेस्रो साता बढेर ५० खर्ब ८७ अर्ब रुपैयाँ नाघेको छ ।
गत वर्षको तुलनामा भने कर्जा प्रवाह बढेको हो । गत वर्ष (२०७९) साउनदेखि माघसम्मको सात महिनामा १ खर्ब १६ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह भएको थियो ।
साउनदेखि माघ तेस्रो सातासम्ममा निक्षेप संकलन भने ३ खर्ब ८१ अर्ब रुपैयाँले बढेको छ । २०८० असार मसान्तसम्म ५७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप माघ तेस्रो सातासम्ममा ६१ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको हो ।
फागुनका लागि सबैभन्दा धेरै ०.९ प्रतिशत विन्दुले सिटिजन्स बैंकले ब्याजदर घटाएको छ । माघका लागि व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत ब्याज दिएको सिटिजन्स बैंकले फागुनका लागि अधिकतम ८.२५ प्रतिशत ब्याज दिने भएको छ ।
व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा ब्याज एनएमबी बैंकले दिएको छ । एनएमबीले फागुनका लागि ८.५ प्रतिशत ब्याज दिने भएको हो । हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
