• Menu

बैंक वित्तीय संस्थामा साढे ६ महिनामा ३ खर्ब ७४ अर्ब निक्षेप थपियो, २ खर्ब कर्जा प्रवाह

नेपाल प्रफिट

२०८० माघ १९, शुक्रबार २२:०८

बैंक वित्तीय संस्थामा साढे ६ महिनामा ३ खर्ब ७४ अर्ब निक्षेप थपियो, २ खर्ब कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट साढे ६ महिनामा २ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको पाइएको छ । उच्च ब्याजका कारण असार मसान्तसम्म निकै सुस्ताएको कर्जा प्रवाह साउनमा नकारात्मक रहेकोमा त्यसपछि विस्तारै बढ्न थालेको हो ।

साउनदेखि माघ १६ सम्ममा बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ७४ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह २ खर्ब २ अर्ब रुपैयाँ भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार औसतमा मासिक ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

२०८० असार ३१ गते ४८ खर्ब ७९ अर्ब रहेको बैंक वित्तीय संस्थाको कर्जा प्रवाह माघ १६ गते बढेर ५० खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ ।

गत वर्षको तुलनामा कर्जा प्रवाह बढेको हो । गत वर्ष (२०७९) साउनदेखि माघसम्मको सात महिनामा १ खर्ब १६ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह भएको थियो । २०७९ असार मसान्तसम्म ४१ खर्ब ७४ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल कर्जा माघ अन्तिमसम्ममा बढेर ४२ खर्ब ९० अर्ब पुगेको थियो ।

समीक्षा अवधिमा निक्षेप संकलन ३ खर्ब ७४ अर्ब रुपैयाँले बढेको छ । २०८० असार मसान्तसम्म ५७ खर्ब ६७ अर्ब रुपैयाँ रहेका बैंक तथा वित्तीय संस्थाको निक्षेप माघ १६ सम्ममा ६१ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

गत वर्षको तुलनामा निक्षेप संकलन पनि बढेको हो । २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब रहेको निक्षेप संकलन माघ मसान्तसम्ममा २ खर्बले बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको थियो ।

कुन महिनामा कति कर्जा प्रवाह ?

साढे ६ महिनामा औसत ३१ अर्ब रुपैयाँका दरले कर्जा प्रवाह भएको छ । साउनमा २० अर्बले कर्जा प्रवाह ऋणात्मक भएको थियो । असार मसान्तसम्म ४८ खर्ब ७९ अर्ब रहेको कर्जा प्रवाह साउनमा घटेर ४८ अर्ब ५९ अर्बमा झरेको हो ।

तर, भदौमा बढेर ४९ खर्ब १३ अर्ब रुपैयाँ पुग्यो । असोजमा ५० खर्ब नाघेकोमा कात्तिक र मंसिरमा कर्जा प्रवाह घटेको थियो । मंसिर ४ गते कर्जा प्रवाह ४९ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको थियो ।

पुस लागेपछि पुनः कर्जा प्रवाह बढ्न थालेको हो । पुस ४ गतेसम्ममा ५० खर्ब २ अर्ब कर्जा प्रवाह भएकोमा माघ १६ मा आइपुग्दा ५० खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । पुसयताका डेढ महिनामा करिब ८० अर्ब कर्जा प्रवाह भएको हो ।

ब्याजदर घटेपछि कर्जा प्रवाह बढ्दै

तथ्यांकअनुसार ब्याजदर घट्न थालेपछि कर्जा प्रवाह बढेको हो । २०७९ माघ र फागुनमा कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत पुगेको थियो । त्यो समयमा कर्जा प्रवाह करिब ठप्प नै भयो ।

त्यसपछि लगातार घट्न थालेको कर्जाको औसत ब्याजदर मंसिर मसान्तमा ११.८५ प्रतिशतमा झरेको छ । यो ब्याजदर २०७९ साउनको भन्दा कम हो । २०७९ साउनमा कर्जाको औसत ब्याजदर ११.९४ प्रतिशत थियो ।

तथापि, कर्जाको ब्याजदर सर्वाधिक उच्च भएको समय (करिब ७ वर्षको) भन्दा अघिल्ला वर्षहरुको तुलनामा भने कर्जा प्रवाह दर निकै सुस्त छ । आन्तरिक अर्थतन्त्र चलायमान भएर समष्टिगत माग बढ्न नसक्दा कर्जाको माग पनि सुस्ताएको हो ।

अहिले कर्जाको माग खासै बढ्न नसक्दा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.४ प्रतिशतमा झरेको छ ।