काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगन्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा लगानी कम्पनी स्थापना गर्नेबारे जानकारी दिएका हुन् ।
उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए ।
कार्यक्रममा उनले मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गरिरहेको पनि जानकारी गराए । मुलुक अप्ठ्यारो अवस्थामा हुँदा पनि राजनीतिक दलका नेताहरु आर्थिक एजेन्डामा एक ठाउँमा उभिन नसकेको उनले बताए ।
‘आर्थिक विषयमा राजनीतिक दलहरुको एकै एजेन्डा हुन नसक्दा समन्वय र सुधार भएन,’ उनले भने, ‘महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिनेछ ।’
महासंघले अर्थतन्त्रको सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत आर्थिक बहस यसको कोसेढुंगा भएको उनले बताए । ‘त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वपक्षीय भेला आयोजना गर्नुभयो,’ उनले भने, ‘त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको हो ।’
महासंघले अझै पिन प्रयास गर्नुपर्ने उनले बताए । ‘हामीले अझै प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’